चितवन । सुत्केरी गराउन आएकी चितवन कालिका–२ निवासी ३० वर्षीया संगीता विकको मृत्यु प्रकरणमा भरतपुर अस्पतालले उपचारमा कुनै लापरबाही नभएको स्पष्ट गरेको छ ।
अस्पतालका प्रवक्ता डा. राम प्रसाद सापकोटाले आइतबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा संगीता विकलाई कात्तिक २० गते साँझ ५ बजे अस्पतालमा भर्ना गरिएको र गर्भमा रहेको शिशुको मृत्यु भइसकेको अवस्थामा उपचार गरिएको उल्लेख छ । उनका अनुसार, “प्रोटोकल अनुसार औषधिको प्रयोग गरी नर्मल डेलिभरी गराउने प्रयास गरिएको थियो । तर उपचारका क्रममा अचानक बिरामीको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि तुरुन्तै कार्डियो–पल्मोनरी रेससिटेसन (सीपीआर) दिई एमआईसीयूमा सारिएको थियो।”
अस्पतालका अनुसार संगीता विकको मृत्यु पल्मोनरी एम्बोलिजम (फोक्सोमा रगतको थक्का जमेर सास फेर्न कठिन हुने अवस्था) का कारण भएको हो । अस्पतालले उक्त अवस्था सुत्केरी महिलामा हुने सामान्य जटिलतामध्ये एक प्रमुख कारण रहेको जनाएको छ । डा. सापकोटाका अनुसार, “अस्पतालमा उपलब्ध सबै सेवा, सुविधा र चिकित्सक–स्वास्थ्यकर्मीको निरन्तर प्रयासका बाबजुद पनि बिरामीलाई बचाउन सकिएन ।”
संगीता विकको मृत्यु कात्तिक २२ गते राति ११:४० बजे भएको अस्पतालले जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ —
“अस्पताल परिवार निजको असामयिक निधनप्रति हार्दिक समवेदना प्रकट गर्दछ।”
यसअघि मृतकका आफन्तहरूले संगीताको मृत्युमा चिकित्सकको लापरबाही भएको आरोप लगाउँदै अस्पतालमा नाराबाजी गरेका थिए ।



