जनकपुर । मधेस प्रदेशमा नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवको नेतृत्वमा बनेको नयाँ सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि सहभागी भएको छ।
सरकारमा राप्रपाबाट कञ्चन विच्छा मन्त्री बनेकी छन्। तर, पार्टीको औपचारिक निर्णयबिना सरकारमा सहभागिता जनाइएको भन्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले यसबारे गम्भीर आपत्ति जनाएका छन्।
लिङ्देनले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत लेख्दै भनेका छन्,
“मधेस प्रदेश सरकारमा राप्रपाको सहभागिताप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। यो अनुशासनको गम्भीर उल्लंघन हो।”
उनले मन्त्री बनेकी सांसदलाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन दिएका छन्।
“अन्यथा विधानबमोजिम कारबाही हुनेछ,” लिङ्देनले चेतावनी दिएका छन्।
राप्रपाका संघीय र प्रदेश सभाका सबै सांसदहरूले गत भदौ २४ गते सामूहिक राजीनामा दिएका थिए। त्यही राजीनामा दिएकी सांसद कञ्चन विच्छा अहिले मन्त्री बनेकी हुन्।
आइतबार राति प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।
सिन्धुली र महोत्तरीको सिमानामा पर्ने एउटा होटलमा प्रदेश प्रमुख भण्डारीले यादवलाई सपथ ग्रहण गराएकी थिइन्। मुख्यमन्त्री बनेपछि यादवले तीन जना मन्त्री नियुक्त गरेका छन् —
-
नेकपा (एमाले) बाट लखन दास,
-
समाजवादी पार्टीबाट विमला अन्सारी, र
-
राप्रपाबाट कञ्चन विच्छा।
यसरी बनेको नयाँ सरकारमा राप्रपाको सहभागिताले पार्टीभित्र नयाँ राजनीतिक विवाद निम्त्याएको देखिएको छ।



