इच्छाकामना ४ का वडा अध्यक्षले आफ्नै पारिश्रमिकबाट ६१ घर विपन्न परिवारको स्वास्थ्य बिमा गरिदिए

कुरिनटार ६, साउन ।  चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष रुद्र प्रसाद उप्रेतीले जनप्रतिनिधि भए वापत आफुले प्राप्त गरेको सम्पूर्ण पारिश्रमिकबाट विपन्न परिवारको स्वास्थ्य बिमा गरिदिएका छन् । वडाध्यक्ष उप्रेतीले चुनावमा गरेको प्रतिबद्धता बमोजिम आज (शुक्रबार) कुरिनटारमा एक कार्यक्रमको आयोजना गरि ६१ जना विपन्न परिवारको स्वाथ्य बिमा गरिदिएका हुन् ।

विपन्न परिवारको स्वास्थ्य बिमा गरेसँगै वडाध्यक्ष उप्रेतीले चुनावमा आफुले जनतासामु गरेका सबै वाचा पुरा गरेको बताए । उनले भने– ‘मैले चुनावको बेलामा वडाध्यक्ष जितेमा घरघरमा वृद्ध भक्ता वितरण, सार्वजनिक सम्पत्तिको संरक्षण र जनप्रतिनिधि भएवापत पाउने सबै पारिश्रमिकले विपन्न परिवारको स्वास्थ्य बिमा गर्छु भनी वाचा गरेको थिए, यो सबै पुरा गरेको छु।’

उनले २०७९ जेठ देखि २०८० असारसम्म आफुले जनप्रतिनिधि भए पश्चात प्राप्त गरेको २ लाख १३ हजार ५ सय रुपैयाँले विपन्न नागरिकको स्वास्थ्य बिमा गरिदिएका हुन् । वडाध्यक्ष उप्रेतीले बिमा वापतको शुल्क रकम स्वास्थ्य बिमा बोर्डका प्रतिनिधि विन्दु गुरुङलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका थिए । उनले एक औपचारिक कार्यक्रमको आयोजना गरेरै एकैपटक ६१ घर परिवारको बिमा गरिदिएका हुन् । उनका अनुसार बाँकी छुट थप १० घर परिवारको समेत स्वास्थ्य बिमा गरिनेछ । तत् पश्चात स्वास्थ्य बिमाबाट ३ सय ५५ जना नागरिक लाभान्वित हुनेछ ।

उनले स्थानीय विपन्न परिवारको स्वास्थ्य बिमा गर्नुको कारण बारे बताउदै सधै बिरामी भयो भन्दै सहयोग माग्न आईरहने नागरिकको समस्यालाई समाधान गर्नकै लागि आफुले स्वास्थ्य बिमालाई नै प्राथमिकता दिएको बताए । ‘अब स्वास्थ्य बिमाकै कारण १ लाख रुपैयाँसम्मको उपचार सहयोग उनीहरुले पाउनेछन् ।’ –उनले भने ।

स्वास्थ्य बिमा कार्यक्रममा चितवन क्षेत्र नं. २ प्रदेश सभा ‘क’ का बागमती प्रदेश सभा सदस्य माननीय कृष्णप्रसाद पोखरेल प्रमुख अतिथिको रुपमा उपस्थित थिए भने जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी विशिष्ट अतिथिको रुपमा उपस्थित थिए । कार्यक्रममा इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल, प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुषाल, वडाध्यक्षहरु नर बहादुर नेपाल र लक्ष्मण चेपाङ लगाएतको उपस्थिति रहेको थियो ।

यस्तै स्वास्थ्य बिमा कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोन्धन गर्दै चितवन क्षेत्र नं. २ प्रदेश सभा ‘क’ का बागमती प्रदेश सभा सदस्य माननीय कृष्णप्रसाद पोखरेलले वडाध्यक्ष उप्रेतीले सह्रानीय काम गरेको बताए । राम्रो मान्छेले निर्वाचन जितेर जनप्रतिनिधि बने जनताको पक्षमा काम गर्ने बताउदै त्यसको उदाहरण वडाध्यक्ष उप्रेती रहेको बताए ।

उल्लेख्य रुपमा स्थानीयहरु उपस्थिति रहेको कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले वडाध्यक्ष उप्रेतीको खुलेर प्रशंसा गरेका थिए ।–00–

Share:

सम्बन्धित समाचारहरु