आज ४५औँ विश्व खाद्य दिवस : ‘स्वच्छ खाना र सुखद भविष्यका लागि हातेमालो’

काठमाडौं ।

सरकारले आज देशभर ४५औँ विश्व खाद्य दिवस विविध कार्यक्रमका साथ मनाइरहेको छ।
विश्वव्यापी रूपमा स्वच्छ, पोषणयुक्त र सन्तुलित भोजनको महत्त्वबारे जनचेतना जगाउने उद्देश्यका साथ हरेक वर्ष अक्टोबर १६ मा यो दिवस मनाइँदै आएको छ।

यसवर्षको नारामा ‘स्वच्छ खाना र सुखद भविष्यका लागि हातेमालो’ भन्ने सन्देश समेटिएको छ।
दिवसको अवसरमा कृषि विभाग, संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि सङ्गठन (एफएओ), र खाद्यका लागि कृषि अभियानलगायतका संस्थाहरूको समन्वयमा विभिन्न कार्यक्रम आयोजना भइरहेका छन्।

समारोह मनाउन विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ।
सञ्जेलका अनुसार दिवसका अवसरमा खाद्य वस्तुको प्रदर्शनी, जानकारीमूलक कार्यक्रम, पोस्टर प्रकाशन र सन्देश प्रसारण जस्ता क्रियाकलाप गरी दिवस मनाइँदैछ।

उनका अनुसार भोकमरीपीडित वर्गको उत्थान तथा पोषण सुरक्षासँग सम्बन्धित कार्यक्रमहरूलाई यस दिवसले थप प्रेरणा र सहकार्य प्रदान गर्ने विश्वास गरिएको छ।

साथै राष्ट्रिय तथा अन्तरराष्ट्रिय संस्थासँगको सहकार्यमा नारामा आधारित अन्तरक्रिया, लेख–रचना प्रकाशन, प्रचारप्रसार कार्यक्रम समेत आयोजना हुने विभागले जनाएको छ।

संयुक्त राष्ट्रसंघको २०औँ साधारणसभाले सन् १९७९ नोभेम्बरमा पारित प्रस्तावका आधारमा, सन् १९८१ देखि हरेक वर्ष अक्टोबर १६ मा खाद्य दिवस मनाउन थालिएको हो।

Share:

सम्बन्धित समाचारहरु