काठमाडौं।
राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गते गर्ने तयारी अघि बढाइएको छ। यस विषयमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र प्रधानमन्त्री सुशीला कार्की दुवै सक्रिय भएका छन्।
गत शुक्रबार अध्यक्ष दाहालले निर्वाचन आयोगका आयुक्तहरूसँग छलफल गरेका थिए। सो अवसरमा आयोगका आयुक्तहरूले निर्वाचन माघ ११ गते नै गर्ने प्रारम्भिक तयारी भइरहेको जानकारी दिएका थिए।
त्यसअघि, प्रधानमन्त्री सुशीला कार्कीले पनि असोज २१ गते सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोगका आयुक्तहरूसँग छलफल गरेकी थिइन्।
उक्त छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्त डा. जानकीदेवी तुलाधर र सगुन शमशेर जबरा उपस्थित थिए।
आइतबार प्रधानमन्त्री कार्की र राष्ट्रिय सभा अध्यक्ष दाहालबीच पनि आगामी निर्वाचन तयारीका विषयमा पुनः परामर्श भएको छ।
📸 फाइल तस्बिर

