काठमाडौं — लगातारको भारी वर्षाका कारण काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सबै लामो दूरीका सवारी साधन तीन दिनका लागि बन्द गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको सूचनाअनुसार शुक्रबारदेखि निरन्तर भइरहेको वर्षा आगामी असोज २० गतेसम्म जारी रहने पूर्वानुमान भएकाले यो निर्णय गरिएको हो।
प्राधिकरणका अनुसार लगातारको वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम उच्च बनेकाले यात्रु सुरक्षालाई ध्यानमा राख्दै असोज १८, १९ र २० गते उपत्यका भित्रिने तथा बाहिरिने सबै लामो दूरीका सवारी साधनको आवागमन रोकिएको हो।
सूचनामा भनिएको छ —
“सबै जिल्लाबाट चल्ने लामो दूरीका तथा काठमाडौं उपत्यका भित्रिने/बाहिरिने सवारी साधन आवतजावत मिति २०८२ असोज १८, १९ र २० गतेका लागि बन्द गरिएको बेहोरा निर्देशानुसार जानकारी गराइन्छ।”
प्राधिकरणले यात्रुहरूलाई आवश्यक नपरी लामो दूरीको यात्रा नगर्न, सम्भावित जोखिम क्षेत्र नजिक नजान तथा स्थानीय प्रशासन र सुरक्षाकर्मीको निर्देशन पालना गर्न आग्रह गरेको छ।
भारी वर्षाका कारण देशका विभिन्न भागमा सडक अवरुद्ध, पहिरो र नदीमा पानीको सतह वृद्धि भएका घटना भइरहेका छन्। यसले विशेषगरी पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग, अरनिको राजमार्ग लगायतका मार्गहरूमा सवारी आवागमन प्रभावित पारेको छ।–00–


