चितवनमा दसैँ लक्षित सुरक्षा कडाइ, चार क्षेत्र उच्च जोखिममा

चितवन । दसैँको अवसरलाई लक्षित गर्दै जिल्ला सुरक्षा समितिले चितवनमा विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ। समितिले यसपालि चार क्षेत्रलाई उच्च जोखिम क्षेत्रका रूपमा निर्धारण गरी प्रहरी तैनाथ गरेको जनाएको छ।

जोखिम क्षेत्रमध्ये नारायणगढ–काठमाडौं राजमार्ग पहिलो प्राथमिकतामा राखिएको छ, जहाँ दैनिक पहिरो खस्ने, बाटो अवरुद्ध हुने तथा दुर्घटना बढ्ने सम्भावना देखिएको छ। त्यस्तै, कारागारबाट भागेका कैदीबन्दी अझै समुदायमै रहेकाले सुरक्षा चुनौती थपिएको छ।

यस्तै, सडक दुर्घटना जोखिम (यात्रु धेरै बोक्ने, मदिरा सेवन गरेर गाडी चलाउने) र समुदायस्तरका गतिविधि (जुवातास, चोरी, लुटपाट, झैझगडा)लाई पनि समितिले विशेष सुरक्षा चुनौती मानेको छ।

प्रहरी प्रमुख गोविन्द पुरीका अनुसार यो वर्ष अन्य वर्षभन्दा बढी सुरक्षा चुनौती हुनसक्ने अनुमान गरिएको छ। त्यसैले सुरक्षाकर्मीलाई दसैँ विदा नदिइ २४ घण्टा अलर्टमा खटाइएको छ। जिल्लाका ७० युनिटमार्फत घटनास्थलमा २ देखि ५ मिनेटमै प्रहरी पुग्ने व्यवस्था गरिएको छ।

उनीका अनुसार जेनजी आन्दोलनका बेला चितवन कारागारबाट भागेका ७२० मध्ये अझै १७० जना फरार छन्। अन्य जिल्लाका फरार कैदीबन्दीसमेत समुदायमा रहेकाले चोरी तथा लुटपाटजस्ता अपराध बढ्ने जोखिम उच्च रहेको उनले बताए।

त्यसैगरी, नारायणगढ–मुग्लिन राजमार्ग क्षेत्रमा जनपथ प्रहरीसँगै सशस्त्र प्रहरी समेत २४ घण्टा तैनाथ छन्। निरन्तर पहिरो र ढुंगा खस्ने घटनाले बाटो अवरुद्ध हुने र यात्रु हैरान हुने अवस्था रहँदै आएको छ।

एसपी पुरीले भने, “यस वर्ष अन्य वर्षभन्दा बढी सुरक्षा जोखिम छ भन्ने जिल्ला सुरक्षा समितिले आँकलन गरेको छ। हामीले २४ घण्टा प्रहरी अलर्टमा राखेका छौँ।”

Share:

सम्बन्धित समाचारहरु