नाम्सी पुलमा पहिरो पन्छाउने क्रममा प्राविधिक घाइते

चितवन। चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत नाम्सी पुलमा पहिरो पन्छाउने क्रममा एक प्राविधिक घाइते भएका छन्।

बुधबार राति परेको अविरल वर्षाका कारण सो क्षेत्र पहिरोले अवरुद्ध भएपछि पन्छाउने क्रममा माथिबाट खसेको ढुंगाले लागेर सिनियर अपरेटर राजु मगर घाइते भएको सडक डिभिजन भरतपुरले जनाएको छ।

“मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी पुलमा वर्षाका कारण गएको पहिरो पन्छाउने क्रममा माथिबाट खसेको ढुंगाले लागेर घाइते हुनुभएका सिनियर अपरेटर राजु मगरको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ,” बिहीबार (असोज ९) डिभिजनले जारी गरेको सूचनामा उल्लेख छ।

डिभिजनका अनुसार सो सडकखण्डका अन्य क्षेत्रमा समेत पहिरोको उच्च जोखिम छ। विशेष गरी कालीखोला, टोपेखोला, नाम्सीखोला, चिसेन्जीखोला र सिमलताल क्षेत्रमा जोखिम बढेकाले अतिरिक्त सतर्कता अपनाउन अनुरोध गरिएको छ।

“सो स्थानहरू र कुनै पनि पुलमाथि सवारी पार्किङ नगरिदिनुहुन अनुरोध गर्दछौँ,” सडक डिभिजनले भनेको छ।—00—

Share:

सम्बन्धित समाचारहरु