काठमाडौं। आजदेखि हिन्दूहरूको महान् पर्व बडादशैं औपचारिक रूपमा प्रारम्भ भएको छ। आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिनसम्म धुमधामका साथ मनाइने यस पर्वको पहिलो दिन घटस्थापना गरिएको हो।
समितिद्वारा तोकिएको साइत अनुसार बिहान ९:१३ बजे देशभर घर–घरमा पूजा कोठामा विधिपूर्वक घटस्थापना गरी जमरा रोपिएको छ। दुर्गा देवीलाई प्रिय वस्तु मानिने जमरा विजयादशमीको दिन टीकासँगै प्रसादस्वरूप ग्रहण गरिनेछ।
नवरात्रभर देवी दुर्गाका नौ रूप—शैलपुत्रीदेखि सिद्धिदात्रीसम्म—को विशेष पूजा–आराधना गरिन्छ। सातौँ दिन फूलपाती भित्र्याइन्छ भने महाअष्टमी र महानवमीका दिन बलिपूजा गर्ने परम्परा छ।
यसवर्ष विजयादशमी असोज १६ गते पर्नेछ। समितिका अनुसार टीका–जमरा लगाउने उत्तम साइत बिहान ११:५३ बजे रहेको छ। कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका–प्रसाद ग्रहण गरी पर्व मनाइनेछ।
परम्पराअनुसार हनुमानढोका दरबारको दशैं घरमा पनि आजै घटस्थापना गरिएको छ। महानवमीका दिन त्यहाँ ठूलो संख्यामा बलि अर्पण गर्ने परम्परा रहँदै आएको छ।
बडादशैंलाई असत्यमाथि सत्यको विजय र पारिवारिक पुनर्मिलनको पर्वका रूपमा मनाइने गरिन्छ। देशभरका शक्तिपीठ तथा मन्दिरहरूमा यस अवसरमा भक्तजनको घुइँचो लाग्ने अपेक्षा गरिएको छ।–00-


