काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामै राख्ने जिल्ला अदालत रुपन्देहीको आदेशविरुद्ध उच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।
जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले लामिछानेलाई थुनामै राखेर अनुसन्धान अघि बढाउन आदेश जारी गरेको थियो। उक्त आदेशविरुद्ध सोमबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा रिट निवेदन दर्ता गरिएको हो।
बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछाने गत चैत २५ गतेदेखि कारागारमा छन्। हाल उनी नख्खु कारागारमा रहेका छन्। पछिल्लो आदेश बदर गरीपाउन भन्दै उनीतर्फबाट रिट दर्ता गरिएको उच्च अदालत तुलसीपुरका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए।
यसअघि, लामिछानेले आफू सहकारी ठगीमा संलग्न नभएको दाबी गर्दै बचतकर्ताको रकम फिर्ता सुनिश्चित गर्न चाहेको तर्कसहित जिल्ला अदालत रुपन्देहीमा जमानतमा रिहाइको माग गरेका थिए। उनले आफ्नो भागको बिगो बराबरको २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानतसहित साउन १९ गते निवेदन दिएका थिए।
सुप्रिम सहकारी ठगी प्रकरणमा गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। सो आदेशलाई सर्वोच्च अदालतले पनि सदर गरिसकेको छ। —000–


