कालिका, ४ भदौं । भैसी धपाउन खगेरीखोलामा पसेका अन्दाजी ७२ वर्षिया दशरथ (डकुवा ) चौधरी बेपत्ता भएका छन् । कालिका नगरपालिकाको वडा नं. ५ घर भएका चौधरी आज दिउँसो १ बजेको समयमा कामिनीघाट नजिकैवाट बेपत्ता भएका हुन।
खोलासँगैको चौरमा भैसी चराउन गएका चौधरीको भैसी खोलापारी जानलाग्दा भैसी फर्काउन खोलामा पसेका थिए । खोलापनि अस्वभाविक रुपमा एक्कासी बढेकोले उनी खोलामै डुब्न पुगे । भैसी चराउन गएका उनकै साथीहरुले चौधरी डुबेको देखेका थिए । डुबेको धेरै समयपछि पनि खोलाबाट ननिस्किएपछि गाउँमा आएर खोलामा डुबेको बारेमा जानकारी गराएका थिए ।

गाउँलेहरुले खोलाको वरीपरि खोजे । नभेटाएपछि कालिका नगरापलिकाका जनप्रतिनिधिहरुलाई खबर गरे । त्यसपछि थप खोजिकार्य सुरु भयो । नगरप्रहरीको टिम, जुटपानी स्थित नेपाली सेनाका विपद् समितिका टिमहरु खोजीकार्यमा जुटे । साझ अबेर सम्म सम्भावित खोलाको भंगालो र खोलाको किनारहरुमा खोजिकार्यभयो । तर अहिले सम्म कतै भेटिएको छैन ।
नेपाली सेनाको टिम कामिनीघाटबाट खोजीकार्य सुरु गरेका थिए । उनीहरुको टिम टिकौली सम्म पुगे । आज रात परेकाले अब भोली विहानदेखि पुनः खोजी कार्यगरिने बताइएको छ ।

कालिका नगरपालिका प्रमुख विनोद रेग्मी काम विशेषले काठमाण्डौंवाट फर्किदै गरेकाले खोजी कार्यमा आफु सहभागी हुन नपाएका बताए । आफु सहभागी हुन नपाएपनि खोजीकार्यमा कुनै अभाव वा कन्चुस्याईनगर्न निर्देशन दिएका थिए । खगेरीखोलमा मानिस डुबेर वेपत्ता भएको खबर पाए लगत्तै सुरक्षा संयन्त्र, विपद् व्यवस्थापन समितिलाई खोजी कार्यमा जुट्न निर्देशन दिएका थिए ।




—00–


