काठमाडौं । निजी विद्यालय सञ्चालकहरुले विद्यालय शिक्षा सम्बन्धी विधेयक २०८०मा आफ्ना माग सम्बोधन नभएको भन्दै भोलिदेखि आन्दोलन सुरु गर्ने घोषणा गरेका छन् ।
नेशनल प्याब्सन र प्याब्सनले संयुक्त पत्रकार सम्मेलनमार्फत आन्दोलनको कार्यक्रम सार्वजनिक गर्दै सरकार र राजनीतिक दललाई तत्काल ध्यान दिन चेतावनी दिएका हुन् ।
कार्यक्रमअनुसार भोलि (भदौ ५ गते) बिहान ११ बजेबाट माइतीघर मण्डलादेखि नयाँबानेश्वरसम्म प्रिन्सिपलहरूले व्यानर सहित याली गर्ने र पुनः माइतीघरमै कोणसभा गर्नेछन् । भदौ ६ गते बिहान देशभरका विद्यालय बसलाई चोकमा उतार्ने, उपत्यकामा भने २७ किलोमिटर चक्रपथ परिक्रमा गर्दै कालो झण्डा र व्यानरसहित याली गर्ने कार्यक्रम तय गरिएको छ । दिउँसो १ बजे माइतीघरमा भेला भई संघीय संसद घेराउ र धर्ना दिइने घोषणा गरिएको छ । यस्तै, भदौ ८ गतेदेखि निर्णायक आन्दोलनमा उत्रने चेतावनी दिइएको छ ।
संघीय संसद, शिक्षा मन्त्रालय तथा सम्बन्धित निकायलाई पटक–पटक ध्यानाकर्षण गराए पनि माग सम्बोधन नभएकाले आन्दोलन गर्न बाध्य भएको निजी विद्यालय सञ्चालकहरूको भनाइ छ ।
निजी विद्यालय सञ्चालकहरूको पाँच माग
१. विधेयकमा उल्लेख गरिएको “पूर्ण छात्रवृत्ति” भन्ने शब्द हटाउनुपर्ने ।
२. विद्यालयले पोशाक, स्टेशनरी, शैक्षिक सामग्री, खाना–खाजा उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने ।
३. कम्पनी ऐनअनुसार दर्ता भएका विद्यालयलाई “गैर नाफामूलक” बनाउने प्रावधान हटाउनुपर्ने ।
४. छात्रवृत्ति वितरणको अधिकार विद्यालयकै जिम्मामा रहने व्यवस्था गर्नुपर्ने, पालिका प्रतिनिधिको सहभागितामा पारदर्शी समिति गठन गर्न सकिने व्यवस्था मिलाउनुपर्ने ।
५. छात्रवृत्ति सम्बन्धी विद्यमान ऐन–नियमावलीका विभेदकारी प्रावधान खारेज गर्नुपर्ने ।
सञ्चालकहरूले विधेयक जस्ताको त्यस्तै पारित भए सरकारकै शिक्षा नीति प्रभावित हुने चेतावनी दिँदै निजी क्षेत्रमैत्री, व्यवहारिक, न्यायपूर्ण र समावेशी शिक्षा ऐन ल्याउन आग्रह गरेका छन् । –00—


