काठमाडौं,२ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विद्रोही हमास समूहले बन्धक बनाएर लगेको विपिन जोशीको सुरक्षित तथा शीघ्र रिहाइका लागि निरन्तर पहल भइरहेको बताएका छन्।
सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले विपिनको सुरक्षालाई सरकारको प्राथमिकतामा राखी आवश्यक सबै पहल भइरहेको जानकारी दिएका हुन्। प्रधानमन्त्री ओलीले भने, “सरकार विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न हरसम्भव प्रयासमा जुटिरहेको छ। यसका लागि परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रका दूतावासमार्फत निरन्तर संवाद गरिरहेको छ।”
उनीसँगै सरकार विपिनका परिवारको साथमा रहेको उल्लेख गर्दै ओलीले ढाडससमेत दिएका छन्।
प्रधानमन्त्रीका अनुसार, इजरायलस्थित नेपाली दूतावासको समन्वयमा विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले इजरायली राष्ट्रपति आइज्याक हर्जोग र संसद् अध्यक्ष अमिर ओहानासँग भेट गरी विपिनको रिहाइका लागि आग्रह गरेका छन्। यसअघि प्रधानमन्त्री ओलीले मध्यपूर्व शान्तिका लागि सक्रिय रहेका टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग गत चैत ७ गते र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद खालिलसँग गत फागुन २८ गते फोनमार्फत् विपिन प्रकरणमा ध्यानाकर्षण गराएकोसमेत उल्लेख गरेका छन्।
विपिनको रिहाइका लागि सहयोग गरिरहेका इजरायलमा रहेका नेपाली, स्थानीय नागरिक, पत्रकार, सुरक्षाकर्मी तथा सामाजिक अभियन्ताहरूप्रति प्रधानमन्त्री ओलीले धन्यवाद ज्ञापन गरेका छन्।

–00—


