चितवन, २४ साउन । आदिवासी जनजाति समुदायका अगुवाहरूले राज्यको उदासिनताका कारण आफ्ना मुद्दा अझै ओझेलमा परेको बताएका छन्। शनिबार नारायणी कला मन्दिरमा नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) चितवनले आयोजना गरेको ३१औँ विश्व आदिवासी दिवसको कार्यक्रममा बोल्दै उनीहरूले सरकारको बेवास्ताले वर्षौंदेखि आन्दोलन गर्न बाध्य भएको बताएका हुन्।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानकी कार्यकारी सदस्य विष्णुकुमारी चौधरीले संयुक्त राष्ट्र संघको युएनड्रिप र आइएलओ १६९ कार्यान्वयनको माग गर्दै आएको लामो समय बितिसक्दा पनि सुनुवाइ नभएको बताइन्। उनले सरकारलाई दबाब दिने मात्र नभई, कानुन निर्माण गर्ने तहसम्म आदिवासी जनजातिलाई पुर्याउनुपर्ने सुझाव दिइन्।
“हामी जहिल्यै संस्कृतिको धनी भनिरहेका छौँ, तर आर्थिक दृष्टिले पनि धनी बन्नु आवश्यक छ,” उनले भनिन्, “संस्कृति जोगाउँदै आर्थिक पाटोलाई बलियो बनाउने काममा ध्यान दिनुपर्छ।”
राप्ती नगरपालिकाका मेयर शमशेर लामाले आर्थिक सबलीकरणका लागि उत्पादनमूलक काममा जोड दिन आग्रह गरे। उनले कमजोर बन्दै गएको अर्थतन्त्रलाई देखाउँदै सरकारमाथि मात्र भर पर्नु नहुने बताए। साथै, युवालाई आधुनिक प्रविधिसँग घुलमिल हुने परिणाममुखी शिक्षामा जोड दिन आवश्यक रहेको बताए।
नेफिन चितवनका पूर्वअध्यक्ष तथा सल्लाहकार समितिका संयोजक पदमबहादुर गुरुङले राज्यसँगको मुकाविलामा आदिवासी जनजाति समुदाय कमजोर बन्दै गएको भन्दै चिन्ता व्यक्त गरे। आइएलओ १६९ अनुसारको प्राकृतिक स्रोतमा अग्राधिकारको अधिकार सर्वोच्च अदालतले निर्देश दिइसक्दा पनि कार्यान्वयन नहुँदा सरकारसँग दृढतापूर्वक उभिनुपर्ने उनले बताए। उनका अनुसार विश्वका ९० मुलुकमा बसोबास गर्ने आदिवासी जनजातिहरूले करिब सात हजार भाषा र पाँच हजार संस्कृति जोगाइरहेका छन्।
राप्तीमा सार्वजनिक विदा घोषणा –
कार्यक्रममै मेयर लामाले २०८३ सालदेखि हरेक वर्ष विश्व आदिवासी दिवसको अवसरमा राप्ती नगरपालिकामा सार्वजनिक विदा दिने घोषणा गरे। उनले चितवनका सबै पालिकासँग समन्वय गरी जिल्लाभरि नै विदा दिलाउने वातावरण सिर्जना गर्ने प्रतिवद्धता जनाए।
२०७८ सालको जनगणनाअनुसार चितवनमा करिब ३ लाख ३३ हजार आदिवासी जनजाति बसोबास गर्छन्। नेफिन चितवनका अध्यक्ष महेन्द्र दुराले नगरपालिकाको घोषणालाई स्वागत गर्दै सबै स्थानीय सरकारले यस्तै उदारता देखाए मुद्दा समाधानतर्फ अघि बढ्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा लमजुङको ठाडोभाकादेखि चितवनकै थारु, दरै लगायतका सांस्कृतिक प्रस्तुति र जातीय झाँकीसमेत प्रदर्शन गरिएको थियो।





—00—


