सिन्धुली, १६ साउन । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ बस्तीपुरमा आज दिउँसो रुखले किच्दा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
अविरल वर्षासँगै आएको पहिरोले सालको रुख टहरामा खसेपछि ओत लिइरहेका नौ वर्षीय सार्की थिङ र १६ वर्षीया शन्ता गोलेको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिनुभयो।
उक्त दुर्घटनामा १४ वर्षीया सिर्जना माया, १५ वर्षीया सन्ध्या भोलन र सात वर्षीय सुशील थिङ घाइते भएका छन्। उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
घटनास्थलमा अहिले पनि सुरक्षाकर्मीको टोली परिचालित छ भने स्थानीयवासीसँगको सहकार्यमा पहिरोपीडितलाई सहायता पु¥याउने काम भइरहेको प्रहरीले जनाएको छ।
लगातारको वर्षाका कारण भूस्खलनको जोखिम बढ्दै गएको भन्दै सुरक्षानिकायले सतर्कता अपनाउन स्थानीयवासीलाई आग्रह गरेको छ। –00—


