एजेन्सी । थाईल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादले फेरि उग्र रूप लिँदै सैन्य झडपमा परिणत भएको छ। आज बिहान सीमाक्षेत्रमा दुवै देशका सेनाबीच भएको भीषण झडपमा १२ जनाको ज्यान गएको छ।
बीबीसीले थाईल्यान्डका स्वास्थ्य मन्त्रीलाई उद्धृत गर्दै दिएको जानकारी अनुसार मृतकमध्ये एक जना सैनिक र ११ जना सर्वसाधारण रहेका छन्।
सन् १९०० तिरको सीमांकन विवाद पछिल्ला केही महिनादेखि पुनः तनावग्रस्त बन्दै आएको थियो। झडपपछि थाई पक्षले कम्बोडियाबाट तोप र रकेट प्रहार भएको आरोप लगाएको छ भने आफूले कम्बोडियाली सैन्य चौकीहरूलाई लक्षित गर्दै हवाई आक्रमण गरेको दाबी गरेको छ।
यस घटनापछि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय समुदायबाट दुबै देशलाई संयमता अपनाउन आग्रह गरिएको छ। मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले थाईल्यान्ड र कम्बोडियाका नेतृत्वसँग प्रत्यक्ष संवाद गर्ने बताएका छन्।
यता, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले पनि चिन्तासहित प्रतिक्रिया दिएका छन्। उनले भने, “हामी आशा गर्छौं कि दुवै पक्षले संवाद र परामर्शमार्फत आफ्ना मुद्दाहरूलाई उचित रूपमा समाधान गर्ने छन्।”
स्थिति थप जटिल नबनोस् भनेर कूटनीतिक पहलहरू सुरु भइसकेका छन्, तर सीमाक्षेत्रमा तनाव कायमै रहेको बताइएको छ।–00–


