काठमाडौं,८ साउन । — भक्तपुरको मध्यपुर थिमी नगरपालिका–८ बोडे सिन्टिटारस्थित डेरामा सुर्खेत घर भई बसोबास गर्दै आएका दुई दिदीबहिनी झुण्डिएको अवस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार १५ र १७ वर्षीया कँडेल थरकी दुई दिदीबहिनी एकै डोरीमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्। उनीहरू भुईं तलामा बस्दै आएका थिए।
थिमी प्रहरी वृत्तका डीएसपी नवराज ढुंगानाका अनुसार उनीहरूलाई झुण्डिएको अवस्थामा फेला परेपछि तत्काल प्रहरी टोली घटनास्थल पुगेको थियो। हाल मृतकका आफन्तहरूलाई खबर गरेर घटनाको विस्तृत जानकारी लिने प्रयास भइरहेको ढुंगानाले जानकारी दिए।
प्राथमिक अनुसन्धानका अनुसार दुवै किशोरी केही दिनअघि भारतबाट भागेर काठमाडौं आएका थिए। उनीहरूका बुबाआमा भारतमा बस्दै आएका छन् भने उनीहरूका आफन्त कलंकी क्षेत्रमा बस्दै आएको बताइएको छ।
प्रहरीले घटनाको प्रकृति र कारणबारे थप अनुसन्धान अगाडि बढाएको छ। शव पोस्टमार्टमका लागि पठाइएको छ।–00–


