रेशम सापकोटा – सेतो नेपाल
चितवन ७ साउन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आगामी कार्यकाल (२०२५–२७) का लागि हुने निर्वाचनमा न्यू साउथ वेल्स(NSW) राज्य संयोजक पदका लागि राज गुरूङले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका छन्। आउँदो जुलाई २६ मा हुने निर्वाचनमा उनी डेमोक्रेट टिमको नेतृत्व गर्दै प्रतिस्पर्धामा उत्रिएका हुन्।
“यो निर्वाचन मेरो व्यक्तिगत आकांक्षा होइन, अष्ट्रेलियामा रहेका सम्पूर्ण नेपाली समुदायप्रतिको दायित्व हो,” गुरूङले सेतो नेपालसँग मतदाता रेशम सापकोटासँग कुराकानी गर्दै भने, “समान सहभागिता र समावेशी नेतृत्वमार्फत मात्र हामीले एक सशक्त र समृद्ध समुदाय निर्माण गर्न सक्छौं।”
गुरूङको नेतृत्वमा प्रस्तुत गरिएको डेमोक्रेट टिमलाई अनुभव, समावेशिता र संस्थागत सशक्तिकरणका आधारमा एक अग्रगामी समूहका रूपमा प्रस्तुत गरिएको छ। टिममा पत्रकार, व्यवसायी, समाजसेवी, महिला, युवा तथा विभिन्न जात–वर्गका प्रतिनिधिहरूको उपस्थिति छ, जसले टिमको समावेशी चरित्रलाई मजबुत बनाएको छ।
उक्त टिम जनसम्पर्क मञ्च अष्ट्रेलिया, एनएडीएफलगायत सामाजिक अभियन्ताहरूको सहकार्यमा गठन गरिएको हो। टिमको संरचनात्मक संयोजनमा जनसम्पर्क समिति अष्ट्रेलियाका सभापति सुरेश रानसिंह गुरूङ, उपाध्यक्ष राजेश केसी, एनएसडब्लु संयोजक सीतल गिरी, र टिम संयोजक सत्यराज कडेलको सहमति र अगुवाइ रहेको छ।
चितवन माडी नगरपालिका–१ निवासी गुरूङ हाल एनआरएनए अष्ट्रेलिया, एनएसडब्लु राज्य परिषद (SCC) मा सह–सचिवको जिम्मेवारीमा कार्यरत छन्। सन् २०१६ मा श्रीमती र एक बच्चासहित अष्ट्रेलिया रहदै आएका गुरूङ सामाजिक र संस्थागत क्षेत्रमा निरन्तर सक्रिय छन्।
विद्यार्थी जीवनदेखि नै नेतृत्व क्षमतामा सक्रिय गुरूङले भरतपुरस्थित विरेन्द्र बहुमुखी क्याम्पसमा अध्ययन गर्दै गर्दा चार वर्षसम्म नेविसंघ इकाई सचिवका रूपमा संगठनमा योगदान दिएका थिए।
जनसम्पर्क समितिका उपाध्यक्ष राजेश केसीका अनुसार, “पछिल्ला वर्षहरूमा देखिएका मतभेदहरू अब सहकार्यमा रूपान्तरण भएका छन्। अहिले सबै डेमोक्रेटहरू एकजुट भएर राज गुरूङको नेतृत्वमा अघि बढिरहेका छन्,” उनले भने, “राज्यदेखि केन्द्रसम्मको व्यापक समर्थन अहिले डेमोक्रेट टिमको पक्षमा छ।”
सशक्त संरचना, साझा दृष्टिकोण र संस्थागत समर्थनको जगमा अघि बढिरहेको डेमोक्रेट टिमलाई आगामी निर्वाचनमा बलियो प्रतिस्पर्धीका रूपमा हेरिएको छ।–00–


