चितवन, ५ साउन । – चितवनको खैरहनी नगरपालिका–१ स्थित शाहीचोक नजिकै पूर्व–पश्चिम महेन्द्र राजमार्गमा सोमबार राति बलेरोले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३ च ६६१० नम्बरको बलेरोले सडक पार गर्दै गरेका अन्दाजी ३०–३२ वर्ष उमेरका एक पुरुषलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ।
गम्भीर घाइते भएका ती पुरुषलाई तत्कालै उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएको थियो। तर, उपचारकै क्रममा राति ८:५५ बजे चिकित्सकले मृत घोषणा गरेका छन्। मृतकको नाम, थर र वतन हालसम्म खुल्न सकेको छैन।
ठक्कर दिने बलेरो र चालक ३५ वर्षीय बिरेन्द्र चौधरी खैरहनी नगरपालिका–१० निवासी रहेको प्रहरीले जनाएको छ। चौधरीलाई नियन्त्रणमा लिइएको र घटनासम्बन्धी आवश्यक अनुसन्धान भइरहेको इप्रका खैरहनीले जानकारी दिएको छ।
घटनापछि इलाका प्रहरी कार्यालय खैरहनीबाट प्रहरी निरीक्षक प्रदीप महतको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। दुर्घटना स्थल इप्रका खैरहनीबाट करिब तीन किलोमिटर पश्चिम पर्छ। –00–


