काठमाडौं, ४ असार।— मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) बलात्कार आरोपमा पक्राउ परेका छन्। काठमाडौंको भद्रकाली क्षेत्रबाट आइतबार बिहान उनलाई नियन्त्रणमा लिइएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज अधिकारीले जानकारी दिए।
प्रहरीका अनुसार, पीडितको जाहेरीका आधारमा झामाथि काठमाडौंमा अनुसन्धान सुरु गरिएको थियो। बलात्कारको उजुरी माघ ३ गते जिल्ला प्रहरी परिसर काठमाडौंमा दर्ता भएको थियो। जाहेरी दर्तापछि झा भारततर्फ भागेका थिए। केही साताअघि उनी पुनः काठमाडौं फर्किएर लुकेर बसेको सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार अदालतले झालाई अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरी हिरासतमा राख्न अनुमति दिएको छ। जिल्ला अदालतले चैत २५ गते झालाई पक्राउ गर्न अनुमति प्रदान गरेको थियो। जाहेरीमा पीडितले १७ वर्षको उमेरदेखि झाले आफूलाई यौन शोषण गर्दै आएको उल्लेख गरेकी छन्।
पीडित युवती मधेसी समुदायकी हुन्। उनी घरायसी सहयोगीका रूपमा काठमाडौं ल्याइएकी थिइन्। झाले पठनपाठनको जिम्मा लिने भन्दै विभिन्न प्रलोभनमा पारेर यौन सम्बन्ध राखेको पीडितको दाबी छ।
झा २०७७ साल फागुन ७ गतेदेखि २०७८ साउन ३२ गतेसम्म मधेश प्रदेश प्रमुखको जिम्मेवारीमा थिए। जाहेरी दर्तापछि उनले आफू विभिन्न माध्यमबाट धम्कीको सामना गर्नुपरेको पीडितले बताउँदै आएकी छन्।


