काठमाडौं, २ साउन । थारू विद्यार्थी सभाले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गर्ने देशभरिका थारू विद्यार्थीहरूलाई विशेष सम्मान गर्ने भएको छ। साउन ३ गते शनिबारका दिन काठमाडौंको बुद्धनगरस्थित स्वप्न वाटिका कलेजमा हुने उक्त कार्यक्रममा आवश्यक तयारी पूरा भइसकेको आयोजकले जनाएको छ।
सम्मान कार्यक्रमका लागि अतिथिहरूलाई आमन्त्रण गरिनुका साथै सहभागी विद्यार्थी तथा अभिभावकहरूलाई पत्रचारगर्ने काम सकिएको केन्द्रीय अध्यक्ष सुशिला चौधरीले जानकारी दिइन्।
कार्यक्रममा (एसईई) परीक्षामा मा उत्तिर्णभएका थारू विद्यार्थीहरूलाई बधाई दिँदै विशेष सम्मान गरिनेछ। थारू विद्यार्थी सभाका अनुसार उक्त कार्यक्रम थारू समुदायका बालबालिका र किशोर–किशोरीहरूलाई प्रोत्साहन दिने उद्देश्यले आयोजना गरिएको हो। कार्यक्रममा चर्चित गायक आरके थारू र गायिका समिक्षा चौधरीको विशेष सांगीतिक प्रस्तुति पनि रहनेछ। त्यस्तै, विद्यार्थीहरूको अनुभव आदानप्रदान, प्रेरणादायी मन्तव्य, सांस्कृतिक कार्यक्रम तथा सम्मान वितरण समारोह समेत हुनेछ ।
कार्यक्रमका प्रमुख अतिथिका रूपमा प्रतिनिधिसभा सदस्य माननीय भगवती चौधरीको उपस्थिति रहनेछ। साथै, थारू समुदायका बुद्धिजीवी, अभिभावक, विद्यार्थी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहने आयोजकले जनाएको छ।
थारू समुदायका विद्यार्थीहरूकाे छाता संस्था मानिने थारू विद्यार्थी सभाले हरेक वर्षजस्तै यस वर्ष पनि देशैभरबाट थारू समुदायका होनहार विद्यार्थीहरूलाई एकै थलोमा भेला गराई सम्मान गर्न लागेको हो। यस सम्मान समारोहको आधिकारिक मिडिया पार्टनर सेतोनेपाल डटकम रहेको छ।
तलका तस्विरहरु – विगतका वर्षहरुमा थारु विद्यार्थी सभाले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमको हो ।





–00–


