चितवन,१ साउन ।
पवित्र तीर्थस्थल देवघाटधाममा आजदेखि साउने मेला सुरु भएको छ। मेला भर्न बिहानैदेखि भक्तजनहरूको भीड लाग्न थालेको छ। साउन १ गतेसँगै बोलबम मेलाको समेत औपचारिक सुरुआत गरिएको हो।
श्रावण महिनालाई भगवान शिवको प्रिय महिना मानिने भएकाले यस अवधिमा भक्तजनहरू विशेष पूजाआजा तथा व्रत गर्छन्। आजदेखि भक्तजनहरू त्रिवेणीमा स्नान गरी शिवालयमा जल चढाउँदै भगवान शिवको आराधनामा लीन देखिएका छन्।
देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार, साउन महिनाभरि करिब पाँच लाख भक्तजन देवघाटमा भेला हुने अपेक्षा गरिएको छ। विशेषगरी सोमबारका दिन भक्तजनको संख्या अत्यधिक हुने अनुमान गरिएको छ।
भीड व्यवस्थापन तथा मेलालाई शान्तिपूर्ण बनाउन स्थानीय प्रशासनको समन्वयमा व्यापक सुरक्षा व्यवस्था मिलाइएको समितिले जनाएको छ।
विश्वास गरिन्छ कि साउन महिनाभर देवघाटमा स्नान गरी व्रत बसेर बेलपत्र र जल चढाउँदै शिवको आराधना गर्दा मनोकामना पूरा हुन्छ।

