कालिका (चितवन),२७ असार ।
कालिका नगरपालिकामा अपांगता भएका व्यक्तिहरूलाई लक्षित गरी सहायतासामग्री वितरण गरिएको छ।
आर्थिक वर्ष२०८१/८२ काे स्वीकृत कार्यक्रम अनुसार नगर क्षेत्रका विभिन्न वडाबाट आएका अपांगता भएका व्यक्तिहरूलाई सहायतासामग्री प्रदान गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि कालिका नगरपालिकाका कार्यवाहक नगरप्रमुख श्रीमती विमला तामाङ रहनुभएको थियो। प्रमुख प्रशासकीय अधिकृत श्री देवनाथ चौलागाईंको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा अपांगता भएका व्यक्तिहरूको अवस्था, आवश्यकता र उनीहरूको जीवनशैली सहज बनाउन सकिने उपायहरूबारे समेत गम्भीर छलफल भएको थियो।
कार्यक्रममा वडा अध्यक्षहरू, सामाजिक अभियन्ताहरू, अपांगता क्षेत्रमा क्रियाशील संस्थाका प्रतिनिधिहरू, पत्रकारहरू लगायत सरोकारवाला निकायहरूको उल्लेखनीय सहभागिता थियो।
कार्यक्रमले अपांगता भएका व्यक्तिहरूको मनोबल अभिवृद्धि गर्नुका साथै उनीहरूलाई आत्मनिर्भर जीवन यापनमा सहयोग पुग्ने नगरपालिकाकाे विश्वास छ ।
कार्यक्रममा सामाजिक विकास समिति संयाेजक मकरमान श्रेष्ठ, शाखा अधिकृत प्रकाशचन्द्र पाैडेल, वडा नं ७ का संस्था वडा सदस्य उमाकान्त सापकाेटा लगायत सहभागी थिए ।


