मिति २०८२ साल असार २१ गते, शनिबार बिहान १०:३० बजे माडी नगरपालिका वडा नं. ८, चौकीडाँडासँगै रहेको बैकुण्ठ चौरबाट सुरू भएको हाम्रो यात्रा केवल पदयात्रा मात्र थिएन, त्यो धर्म, प्रकृति र स्मृतिको समिश्रण थियो।

पाँच सदस्यीय टोली, जसमा बैकुण्ठधामका अध्यक्ष राजकुमार परियारज्यू स्वयम् पनि हुनुहुन्थ्यो, प्रकृतिको काखमा लुकेको पवित्रता अनुभूत गर्न अघि बढ्यौं। हरियाली वनको सुरुङजस्तो बाटो, वरिपरि मौन वातावरण र हावासँगै बगिरहेका हाम्रा मनहरू। करिब ६०० मिटर उकालो र ओरालो सिँढी तथा रेलिङको सहायताले हामी पुग्यौं — बैकुण्ठधाम।

बैकुण्ठधामको प्राङ्गणमा अवस्थित प्राचीन शिवालय मन्दिर, सतल चौतारा र वरिपरि हरियालीले सजिएको बगैंचाले हाम्रो स्वागत गर्यो। त्यहाँ पुग्नेबित्तिकै आस्था र शान्तिको अनुभूति स्वतः हुँदो रहेछ।
मठमन्दिरको दर्शन गरेपछि करिब १०० मिटर तल झर्दै जाँदा, नीलो आकाशमुनि टल्किएको जलस्रोत — पवित्र बैकुण्ठ तालसँगै झरनाको सौन्दर्य पनि अवलोकन गर्यौं। जनविश्वास अनुसार, यस तालमा स्नान गरेपछि पाप नाश र पितृ उद्धार हुने बताइन्छ, जुन कुरा अध्यक्ष परियारले हामीलाई जानकारी गराउनुभयो। तालको शान्त जलमा झुल्किएको सूर्य किरणले हाम्रो मन पनि उज्यालो बनाएको अनुभूति भयो।

तर हाम्रो यात्रा त्यहीँ टुंगिएन। झरनाको सुसेलीलाई पछ्याउँदै करिब ४ किलोमिटर माथिल्लो जंगलतर्फको यात्रामा हामी अघि बढ्यौं। बाटोभरि भेटिएका ऐतिहासिक स्थलहरूले हाम्रो उत्साह थप्दै लगे।
परशुराम ढुङ्गा, दुई खोलीको दोभान, मनमोहक भिर, प्रेम पार्क, चराचुरुङ्गीको मधुर आवाजले भरिएको हरियाली वन, र चमेरो गुफा पार गर्दै हामी धनलक्ष्मी झरनातर्फ लाग्यौं। बाटोमा बगेको स्वच्छ पानी पिउँदा र पाखापखेरामा फलेका आप, जामुन, कुसुम, नेवारो टिपेर खाँदा बाल्यकाल झल्कियो।

जंगलभित्र पातमाथि खाना राखेर खाने अनुभव अनौठो र स्मरणीय थियो। त्यससँगै, पुराना साथीसँगको कुराकानीले गाउँको मायाले मन भिज्यो। यात्राको क्रममा पसिनाले निथ्रुक्क हुँदा जङ्गलबाट आएको चिसो हावाले शरीरलाई आनन्दको अनुभुती प्राप्त हुने गर्दथ्यो ।
अन्ततः हामी पुग्यौं — धनलक्ष्मी झरनाको पवित्र स्थलमा। माथिबाट झर्ने निर्मल जल, हरियालीले घेरेको रमणीय वातावरण, र झरनासँगै रहेको पवित्र तलाउ — यी सबैले मिलेर त्यस स्थानलाई अद्वितीय बनाएको थियो। किम्वदन्ती अनुसार, यस तलाउमा स्नान गर्दा पाप नाश, धन प्राप्ति र छाला सम्बन्धि रोग निको हुने जनविश्वास छ। तर त्यो विश्वास केवल सुन्ने कुरा मात्र नभई, झरनाको निरन्तर बग्ने पानी, त्यहाँको मौनता र आन्तरिक शुद्धताको अनुभूतिले वास्तविकता बनेर मनमा बस्ने रहेछ। धनलक्ष्मी झरनासँगैको तलाउ केवल जलाशय संगै श्रद्धा, प्रकृति र आत्मशान्तिको संगमस्थल थियो।
हामीले लियर गएको खाजा समेत उक्त क्षेत्रमा, जंगलभित्र पातमाथि राखेर खाने अनुभव साँच्चिकै अनौठो र स्मरणीय रह्यो। त्यो सन्दर्भमा साथीहरूबीचको कुराकानीले अझै पनि त्यो क्षणको ताजापन मनमा जगाइरहन्छ।
बैकुण्ठ तालदेखि धनलक्ष्मी झरनासम्मको मार्ग निर्माणको क्रममा प्रदेश सरकारले चालू वर्षमा ४० लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको अध्यक्ष परियारले जानकारी दिनुभयो। अघिल्लो वर्ष माडी नगरपालिका वडा नं. ८ को १० लाख, नगरपालिकाको ३ लाख र श्रमदानमार्फत थप ७ लाख बराबरको लगानीमा झन्डै २० लाख बराबरको काम सम्पन्न भइसकेको रहेछ ।
अझै केही सिँढी र रेलिङ निर्माणको काम बाँकी रहेको र छिट्टै सम्पन्न गर्ने योजना पनि उहाँले सुनाउनुभयो। यात्राको क्रममा उहाँले हामीलाई यी सम्पूर्ण तथ्यहरू सूक्ष्म रूपमा जानकारी गराउँदै जानुहुन्थ्यो, जसले हाम्रो भ्रमणलाई अझै बढी अर्थपूर्ण बनायो। साथै, तालमा स्नान गर्दा सुरक्षाको लागि लाइफ ज्याकेटको प्रयोग गर्न, तालको छेउमै मात्र स्नान गर्नको लागि सूचना बोड मार्फत अनुरोध गरिएको देखियो, र आवश्यक सूचनाहरू स्थान–स्थानमा बोर्डमार्फत राखिएको पनि थियो।
त्यसैक्रममा अध्यक्ष परियारले थप जानकारी दिनुभयो — हरेक वर्ष बाला चतुर्दशीको अघिल्लो रात बैकुण्ठधाम परिसरमा भजन, कीर्तन, दीप प्रज्वलन र जाग्राम बस्ने परम्परा रहेको छ। त्यसको भोलिपल्ट धनलक्ष्मी झरना र बैकुण्ठ तालमा स्नान गरी सतबीज छर्ने धार्मिक परम्परा यथावत् रूपमा चलिरहेको छ, र त्यो दिन वैकुण्ठ चौरमा मेला लाग्ने गर्दछ।
हामीले यात्रा गरिरहँदा बाटोमा १५–२० जना युवाहरूको
टोली पनि धनलक्ष्मी झरनातर्फ जाँदै थिए , जसले यो पवित्र स्थलप्रति नयाँ पुस्ताको आकर्षण र सम्भावनालाई देखाउँथ्यो। अघिल्लो भ्रमणमा हामीसँगै देवेन्द्रपुर–जगन्नाथपुर सम्पर्क मञ्चका अध्यक्ष पूर्णप्रसाद पोखरेल र नारायणी अनलाइनका सञ्चालक कृष्ण आचार्यज्यू पनि हुनुहुन्थ्यो। पत्रकार आचार्यले तयार पारेका रिपोर्टहरू राष्ट्रियस्तरमा पुगेर विभिन्न अनलाइन तथा सञ्चारमाध्यमहरूमा प्रकाशित तथा प्रसारित भएका थिए।

यात्रा यद्यपि व्यक्तिगत रूपमा गरिएको थियो, यसको उद्देश्य सामूहिक थियो — माडी क्षेत्रका लुकेर रहेका धार्मिक, प्राकृतिक र सांस्कृतिक सम्पदाको खोज, प्रवर्द्धन र संरक्षण। म स्वयं पनि माडीमा जन्मिएको व्यक्ति भएकोे कारण पनि माडीलाई धार्मिक मात्र होइन, कृषिको सम्भावनाले भरिएको क्षेत्रका रूपमा होमस्टे, मझौला उद्योग, र कृषि–पर्यटनमार्फत आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षित गर्ने सम्भावना भएको ठाउँ ठान्दछु र यसको बिकास गर्न जरुरी देखिन्छ ।
साझको सात बजेतिर हामी हाम्रो एक दिवसीय यात्रा सम्पन्न गरी फर्कियौं। मनमा एक गहिरो शान्ति थियो — पवित्र स्थलहरूको दर्शन, मित्रहरूसँग बिताएका रमाइला क्षणहरू, र आफ्नै माटोप्रति लगाव झनै बलियो बनाएको अनुभूति। बैकुण्ठधाम र धनलक्ष्मी झरना केवल धार्मिक स्थल सङै ती माडीको मुटुमा लुकेका आस्था, प्रकृति र नेपाली संस्कृतिका अमूल्य धरोहर हुन्।
-लेखक रेशम सापकोटा ।
माडी वासिहुनुहुन्छ


