अब युट्युबमा मौलिक सामग्रीमै आम्दानी : जुलाई १५ देखि नयाँ नियम लागू

काठमाडौं, २१ असार । भिडिओ साझेदारी प्लेटफर्म युट्युबले अब मौलिक र प्रमाणित सामग्रीलाई मात्रै आम्दानीको योग्य बनाउने भएको छ ।

युट्युबले आउँदो जुलाई १५ तारिखदेखि लागू हुने गरी मनिटाइजेसन (भिडिओबाट आम्दानी) सम्बन्धी नयाँ नीति ल्याएको हो ।

नयाँ नियमअनुसार एकै शैलीमा थोकमा बनाइएका, फोटोमात्र प्रयोग गरिएका, बारम्बार दोहोरिएका ढाँचाका भिडिओ, एआई प्रविधिबाट सिर्जित आवाज तथा भिडियो सामग्रीहरू अब आम्दानीका लागि अयोग्य ठहरिने छन् ।

हेर्न पाइने तर पैसा नआउने- 
यस्ता सामग्रीहरू युट्युबमा अपलोड गर्न पाइने भए पनि जति पटक हेरिए पनि त्यसबाट युट्युबरहरूले आम्दानी भने गर्न नसक्ने युट्युबले स्पष्ट पारेको छ ।

युट्युबले आफ्ना प्रयोगकर्तालाई सधैँ मौलिकता र प्रामाणिकतामाथि केन्द्रित रहन आग्रह गर्दै दोहोरिएका तथा न्यून श्रममा निर्माण गरिएका भिडिओमाथि कडाइका साथ निगरानी राखिने बताएको छ ।

थोकमा भिडियो बनाउने युट्युबर प्रभावित हुने
नयाँ नीति अनुसार एउटै व्यक्तिसँग कुराकानी गर्दै धेरै जना युट्युबरले भिडिओ बनाउने, एउटै स्क्रिप्ट प्रयोग गरी फरक-फरक च्यानलमा सामग्री पोस्ट गर्ने, पुराना भिडिओ टुक्रा जोडेर नयाँ बनाउने जस्ता गतिविधिहरू अब निषेधित हुने छन् ।

नेपालमा पनि पछिल्ला दिनहरूमा यस्तै शैलीको युट्युब सामग्रीको प्रवृत्ति बढ्दै गएको छ । युट्युबको नियमले यस्ता युट्युबरहरूमा असर पर्ने देखिएको छ ।

गुणस्तर कायम राख्न नयाँ नियम- 
युट्युबमा दिनहुँ करोडौं भिडिओ अपलोड हुने गर्दछन्, जसमा दोहोरिएका, साधारण तथा प्रविधिको सहायतामा रूपान्तरण गरिएका सामग्रीको संख्या बढ्दै गएकाले गुणस्तर कायम राख्न र विज्ञापनदाता कम्पनीहरूको विश्वास जोगाइराख्न नयाँ नीति ल्याइएको युट्युबको भनाइ छ ।

युट्युबले यो नीतिबाट नयाँ, सिर्जनात्मक र मौलिक भिडिओको उत्पादन बढ्ने अपेक्षा राखेको छ ।

 

 

 

Share:

सम्बन्धित समाचारहरु