काठमाडौँ, १८ असार । पतञ्जली जग्गा प्रकरणमा मुछिएका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालविरुद्ध चर्को अभिव्यक्ति दिएपछि पार्टी नेतृ रामकुमारी झाँक्रीमाथि स्पष्टीकरण सोधिएको छ।
अध्यक्ष नेपाललाई लक्षित गर्दै झाँक्रीले ‘सिनो बोकेर हिँड्न नसकिने’ भन्दै अर्ली महाधिवेशनमार्फत नेतृत्व परिवर्तन आवश्यक रहेको अभिव्यक्ति दिएकी थिइन्। उनको सो अभिव्यक्तिपछि पार्टीभित्र आन्तरिक असन्तुष्टि चुलिएको छ।
पार्टी सचिव सोमप्रसाद पाण्डेका अनुसार झाँक्रीको अभिव्यक्तिप्रति अनुशासन आयोगले गम्भीर ध्यान दिएको छ। उनले नेपाल प्रेससँग भने, ‘अनुशासन आयोगले तीन दिनभित्र स्पष्टीकरण दिन आग्रह गरेको छ। अब उहाँको जवाफ आएपछि पार्टीले आवश्यक निर्णय लिन्छ।’
झाँक्रीको पछिल्लो अभिव्यक्तिलाई कतिपय नेताहरूले पार्टी अनुशासनविपरीत भनेका छन्। यसअघि पनि झाँक्रीले पार्टी नेतृत्व र कार्यशैलीप्रति खुलेर असन्तुष्टि जनाउँदै आएकी थिइन्।


