चितवनमा पहिलोपटक ‘परियार समुदाय सङ्ग्रहालय’ निर्माणको थालनी

चितवन, १८ असार । नेपाली समाजको समृद्ध सांस्कृतिक पहिचान बोकेको परियार समुदायको जीवनशैली, परम्परा र सीपलाई दस्तावेज गर्न चितवनको पटिहानीमा नेपालकै पहिलो ‘परियार समुदाय सङ्ग्रहालय’ निर्माणको थालनी गरिएको छ।

परियार एकता समाज चितवनको अगुवाइमा भरतपुर महानगरपालिका–२२ स्थित जग्गामा चारतले भवन निर्माण गरिने लक्ष्यसहित करिब २ करोड लागतमा यो सङ्ग्रहालय निर्माण गर्न लागिएको हो। भरतपुर महानगरको सहयोगमा हाल भवनको डिपीसी (DPC) स्तरको काम सम्पन्न भइसकेको छ।

समाजका अध्यक्ष सुरज परियारका अनुसार यो सङ्ग्रहालयले परियार समुदायको ऐतिहासिक पेसा, पहिचान र सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ। “हामीले अरूलाई बाजा बजाउन र सिलाउन सिकायौं, तर आफ्नै सन्तानमा त्यो हस्तान्तरण हुन सकेन”, अध्यक्ष परियारले भने, “अब यदि संरक्षण गरिएन भने हाम्रो मौलिक पेसा र पहिचान नै लोप हुने खतरा छ।”

सङ्ग्रहालयमा पञ्चेबाजा, सिलाइकटाइका पुराना उपकरण, परम्परागत पोशाक लगायतका सामग्री प्रदर्शनमा राखिनेछ। साथै बाजा बजाउने कला र सीप सिकाउने प्रशिक्षण केन्द्रको रुपमा समेत यो सञ्चालन हुनेछ।

परियार समुदाय परम्परागत रूपमा दर्जी, सूचीकार, नगर्ची, ढोली, हुड्केलगायत पेशामा आवद्ध रहँदै आएको छ। विवाह, जात्रा र धार्मिक अवसरमा बाजा बजाउने संस्कृतिलाई मुख्य पेसा बनाएका यस समुदायका अगुवा शेरबहादुर परियार भन्छन्, “आज हाम्रो पेसा अरू समुदायले समातेका छन्, तर हामी आफैं पछाडि परेका छौं। सङ्ग्रहालयमार्फत हाम्रो पहिचान जोगाउनेछौं।”

भरतपुर महानगरपालिकाले जग्गा र प्रारम्भिक १० लाख सहयोग उपलब्ध गराइसकेको छ भने बाँकी रकम विभिन्न संघसंस्था र व्यक्तिहरूको सहयोगबाट जुटाउने योजना रहेको कोषाध्यक्ष डिल्लीबहादुर परियारले जानकारी दिए। तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ।

नेपालमा परियार समुदायको जनसंख्या करिब ६ लाख रहेको अनुमान छ। यस सङ्ग्रहालयले परियार समुदायको सांस्कृतिक पुनर्जागरणसँगै पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने विश्वास गरिएको छ।

 

 

 

Share:

सम्बन्धित समाचारहरु