रेशम सापकोटा/सेतो नेपाल
माडी, १७ असार । चितवन जिल्ला माडी नगरपालिका–६ र ७ को सिमानामा पर्ने रिमाल खोलामाथि निर्माण गरिएको मितेरी पुल साँझ पर्नासाथ मोतीझैँ चम्किन थाल्छ।
उत्तर पट्टिको रेलिङमाथि जडान गरिएका झिलिमिली रोप लाइटहरूले पुललाई आकर्षक बनाएको छ भने खोलाको सतहमाथि परेका रंगीन बत्तीहरूको छायाले वातावरण झन् शान्त, रमणीय र रोमाञ्चक देखिन्छ।
३० मिटर लम्बाइको यस पुलले आज स्थानीय बासिन्दा र पाहुनाहरूको आकर्षणको केन्द्रबिन्दु बनिरहेको छ। साँझपख फोटो खिच्न, साथीभाइसँग घुम्न र परिवारसँग रमाउन पुल क्षेत्रमा भिड लाग्ने गर्छ। ‘मितेरी’ नामले यो पुल दुई वडाबीचको आत्मीय सम्बन्धको प्रतीक बनाएको छ।
पुल अब सडकमात्रको संरचना नभएर स्थानीय सम्बन्ध, शान्त परिवेश र सौन्दर्यको प्रतीक बनेको छ। सौन्दर्यीकरणपछिको यो दृश्यले माडीको यो भू–भागलाई साँझपख चम्किलो गन्तव्यमा रूपान्तरण गरेको छ।
पिनाकल इन्टेरियरका सञ्चालक विजय खरेलले हालै माडी क्षेत्रको भ्रमणका क्रममा मितेरी पुलबाट अनुभव लिँदै भने, “यस पुलमाथिको झिलिमिली बत्तीले साँझमा यस्तो दृश्य दिन्छ, जुन कुनै पर्यटकीय नगरीभन्दा कम लाग्दैन। धार्मिक र सांस्कृतिक दृष्टिकोणले समेत माडी क्षेत्र निकै महत्त्वपूर्ण छ, स्थानीय सरकार यति सक्रिय र दूरदर्शी देखिनु गर्वको विषय हो।”
वडा नम्बर ७ की वडाध्यक्ष चन्द्र बानियाका अनुसार ५० हजार लागतमा उत्तर साइडको बत्ती जडान कार्य सम्पन्न गरिएको हो। बाँकी रहेको दक्षिण साइडमा पनि यस्तै लाइटहरू जडान गर्न वडा नं. ६ सँग सहकार्य गर्दै योजना अगाडि बढाइएको छ।”
स्थानीय सरकारको सानो लगानी, योजना र व्यवस्थापनले कुनै स्थानलाई कसरी लोभलाग्दो गन्तव्यमा बदल्न सकिन्छ भन्ने उत्कृष्ट उदाहरण हो — मितेरी पुल। यदि दुवैतर्फ आकर्षक स्वागतद्वार निर्माण गरी, ऐतिहासिक, पुरातात्त्विक, धार्मिक तथा कृषि र माछापालनसम्बन्धी जानकारीसहित सूचना बोर्डहरू राख्ने हो भने यो स्थान अझ व्यवस्थित र पर्यटकमैत्री बन्न सक्ने सम्भावना छ। त्यस्ता बोर्डहरूमा सम्बन्धित गन्तव्य कति किलोमिटर टाढा छन् भन्ने स्पष्ट उल्लेखले आगन्तुकलाई थप सहज बनाउनेछ।
थोरै लगानी, योजनाबद्ध प्रयास र स्थानीय सहभागिताले माडीलाई आकर्षक बनाउने अभियानमा मितेरी पुल एउटा चम्किलो उदाहरण बनेको छ। साँझ पर्नासाथ मोतीझैँ चम्किने यो पुलले माडीको सांस्कृतिक र पर्यटकीय पहिचानमा नयाँ उज्यालो थपेको छ।


