शिक्षा र श्रमको संगम: माडीको विद्यालयमा बालबालिकाद्वारा धान रोपाइँ

रेशम सापकोटा / सेताेनेपाल ।
माडी,११ असार ।
माडी नगरपालिका–८ को दक्षिण अयोध्यापुरी टोलमा अवस्थित श्री राष्ट्रिय आधारभूत विद्यालयले सिकाइलाई व्यवहारसँग जोड्ने उद्देश्यले विद्यालय परिसरभित्र करिब दुई कट्ठा क्षेत्रफलमा धान रोपाइँ कार्यक्रम सम्पन्न गरेको छ।

शिक्षासँगै सीप, सिकाइ, आफ्नै भूमि र माटोको माया भन्ने भावनासहित सञ्चालन गरिएको उक्त कार्यक्रममा कक्षा ४ र ५ का केहि विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक–अभिभावक संघ, विभिन्न आमा समूह, टोल विकास समितिका पदाधिकारी तथा स्थानीय युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो।

विद्यालयले सोही जग्गामा विगत केही वर्षदेखि हिउँदको समयमा दिवा खाजाका लागि तरकारी खेतीको अभ्यास गर्दै आएको छ। विद्यार्थीलाई किताबको ज्ञानसँगै माटोमा टेक्न सिकाउने, श्रमको महत्त्व बुझाउने, र व्यवहारिक सीप प्रदान गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको विद्यालय प्रशासनले जनाएको छ।

विद्यालयकी शिक्षिका शोमा पन्त भन्छिन्,
हामीले उत्पादन र श्रमको महत्त्व सानै उमेरदेखि नै सिकाउने प्रयास गरेका हौं। यसले विद्यार्थीमा व्यवहारिक ज्ञानसँगै कृषिप्रतिको सम्मान र चेतना बढाउनेछ।

चितवनकै नमुना विद्यालयमध्ये एकका रूपमा परिचित श्री राष्ट्रिय आधारभूत विद्यालयको यस्ता अभ्यासले बालबालिकामा आत्मनिर्भरता, श्रमप्रतिको सम्मान र सामाजिक सहभागिताको भावना विकास गरिरहेको छ।

शिक्षा केवल किताबी ज्ञानमा सीमित हुनु नपर्ने सन्देश दिन सफल यस विद्यालयको रोपाइँ जस्ता गतिविधिहरूले विद्यार्थीमा व्यवहारिक ज्ञान, आत्मसम्मान र देशप्रेमको पाठ सिकाउने कार्य गरिरहेको छ। विद्यालयले प्रस्तुत गरेको यो अनुकरणीय अभ्यासले सिकाइ र जीवनबीचको सम्बन्ध झनै बलियो बनाएको देखिन्छ।

रोपाइँबाट उत्पादन भएको धान विद्यालयकै विद्यार्थीहरूका लागि दिवा खाजा प्रयोजनमा प्रयोग गरिने विद्यालयले जानकारी दिएको छ। यसले शिक्षासँगै आत्मनिर्भरता र उत्पादनमूलक सोच विकास गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।

 

 

Share:

सम्बन्धित समाचारहरु