काठमाडौं, ८ असार । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक कार्यक्रम लक्षित हमला सफल भएको दाबी गरेका छन्। इरान–इसराइलबीचको ९ दिन लामो तनावपछि अमेरिकाले इरानमाथि आक्रमण गरेको हो।
गएराति स्थानीय समय अनुसार बिहान २:३० बजे अमेरिका द्वारा इरानको नतान्ज, फर्दो र इस्फहानस्थित आणविक परियोजनामाथि बम आक्रमण गरिएको हो। यी स्थानहरू इरानका सबैभन्दा संवेदनशील परमाणु कार्यक्रम सञ्चालन हुने क्षेत्र हुन्।
जिबीयू-५७ बंकरभेदी बम प्रयोग –
फर्दोमा रहेको आणविक भट्टी ठूलो पहाडको २६२ देखि २९५ फिट गहिराइमा रहेको बताइएको छ। उक्त भट्टी नष्ट गर्न अमेरिका द्वारा ३० हजार पाउन्ड तौल भएका ६ वटा GBU-57 बंकरभेदी बम प्रयोग गरिएको छ।
यी बमहरू अमेरिकी वायुसेनाको B-2 बमवर्षक विमान मार्फत मिसौरीबाट पठाइएको थियो। विमानले ३७ घण्टा लगातार उडान भरेको र त्यसक्रममा आकाशमै पटकपटक इन्धन भरेको New York Times ले उल्लेख गरेको छ।
ट्रम्पको दाबी: ‘परियोजनाहरू पूर्णतः ध्वस्त’ –
ट्रम्पले ह्वाइट हाउसमा छोटो ब्रिफिङ गर्दै फर्दो, नतान्ज र इस्फहानस्थित तीन वटै परियोजना पूर्ण रूपमा ध्वस्त भएको दाबी गरेका छन्। उनले भने,
“परमाणु सुविधाहरू पूर्ण र पूर्ण रूपमा नष्ट भएका छन्। हाम्रो उद्देश्य इरानको परमाणु संवर्धन क्षमता नष्ट गर्नु र विश्वकै नम्बर एक आतंक प्रायोजक राष्ट्रबाट उत्पन्न खतरा अन्त्य गर्नु हो।”
उनले इरानसँग अझै यस्ता परियोजनाहरू रहेको संकेत गर्दै, आवश्यकता परे आगामी दिनमा थप आक्रमण गर्ने चेतावनी पनि दिएका छन्।
“अब मध्यपूर्वमा शान्ति कायम गर्नुपर्छ। यदि इरान त्यसका लागि तयार भएन भने आगामी आक्रमणहरू अझै ठूला र सजिला हुनेछन्,” ट्रम्पले भनेका छन्।
अमेरिकी आक्रमणबारे अन्तर्राष्ट्रिय प्रतिक्रिया –
युद्धको तनाव चुलिँदै गइरहेका बेला अमेरिकाले दुई महिनादेखि इरानसँग वार्ता गरिरहेको थियो। यसअघि अमेरिका स्वयंले इसराइलको आक्रमण योजना रोक्ने प्रयास गरेको थियो। तर सहमति सम्भव नभएपछि हालको हमला भएको हो।
संयुक्त राष्ट्रसंघका महासचिव एण्टोनियो गुटेरेसले भने अमेरिकी संलग्नताप्रति चिन्ता व्यक्त गर्दै भनेका छन्,
“पहिल्यै तनावग्रस्त रहेको क्षेत्रमा अमेरिकी हमलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्तिमा खतरा थपिएको छ।”
इसराइलले भने अमेरिकी सहयोगप्रति आभार व्यक्त गरेको छ। यता यमनस्थित हुथी समूहले अमेरिकालाई चेतावनी दिँदै हमलाको परिणाम गम्भीर हुने बताएको छ।


