काठमाडौं,४ असार । काठमाडौं महानगरपालिकाका निलम्बित नगरप्रहरी प्रमुख राजु पाण्डेद्वारा दायर रिटमा उच्च अदालत पाटनमा बहस सकिएको छ। बुधबार अपराह्न दुवै पक्षको बहस सम्पन्न भएपछि आजै आदेश आउने सम्भावना रहेको महानगर स्रोतले जनाएको छ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गरेको निलम्बनविरुद्ध पाण्डेले जेठ २६ गते उच्च अदालत पाटनमा रिट निवेदन दायर गरेका थिए।
उनको निवेदनमा न्यायाधीश प्रकाश खरेलको इजलासले प्रारम्भिक सुनुवाइपछि कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेश सम्बन्धी बहसका लागि दुवै पक्षलाई झिकाउने आदेश दिएको थियो।
- के छ विवादको पृष्ठभूमि?
नगरप्रहरी प्रमुख पाण्डेले प्रशासकीय प्रमुख गुरागाईं बिदाबाट फर्किएपछि कार्यालय आउन खोज्दा कार्यकक्षमा तालाबन्दी गरेर प्रवेशमा रोक लगाएको आरोप छ। उनले चलाउने गाडीमा ह्विल लक लगाएर ताला मारेको, र वडाध्यक्षको सहयोगमा कार्यालय प्रवेश गर्न खोज्दा समेत रोक लगाइएको उल्लेख गरिएको छ।
घटनाक्रम हातपाततर्फ उन्मुख भएपछि जेठ २० गते गुरागाईंले पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका थिए। त्यसको एक सातापछि पाण्डेले उच्च अदालतमा रिट दायर गर्दै निलम्बन बदर गरिदिन उत्प्रेषण आदेश माग गरेका हुन्।
- आजै आउन सक्नेछ अन्तरिम आदेश
दुवै पक्षको बहस सम्पन्न भइसकेको र मुद्दा अदालतको अन्तिम चरणमा पुगेको हुँदा आजै अदालतले आदेश दिन सक्ने संकेत महानगर स्रोतले दिएको छ।


