कालिका नगरपालिकाले सुरु गर्याे जिपिएस प्रणालीमा आधारित घर नम्बर वितरण

चितवन, २० जेठ  । कालिका नगरपालिकाले ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) प्रणालीमार्फत घर नम्बर वितरण सुरु गरेको छ । नगरपालिकाले आजदेखि वडा नं. ४ बाट यो अभियान थालनी गरेको हो ।

नगर प्रमुख विनोद रेग्मीले कालिकाको वडा नं. ४ अन्तर्गत बीपी चोकस्थित एक घरमा नम्बर प्लेट टाँसेर अभियानको सुरुवात गर्नुभयो । उहाँले आगामी आर्थिक वर्षदेखि समग्र नगरभित्र यो कार्यक्रम लागू गरिने जानकारी दिनुभयो । “यो वर्ष केही घरमा मात्रै नम्बर प्लेट टाँस्छौं, अर्को वर्ष बजेट विनियोजन गरेर नगरभर नै विस्तार गर्छौं,” नगरप्रमुख रेग्मीले भन्नुभयो । उहाँका अनुसार आउँदो वर्षकाे बजेटमा ५० लाख रुपैयाँ छुट्याएर कार्यक्रमलाई अघि बढाइनेछ ।

जिपिएस प्रविधिमार्फत घर नम्बर निर्धारण भएपछि नगरवासीकाे पहिचान सुरक्षित हुने, आपतकालीन सेवा र स्थानीय सेवा सहज हुने तथा नगरपालिकाको तथ्यांक प्रणाली समेत बलियो हुने विश्वास लिइएको छ ।

कालिका वडा नं. ४ का वडाध्यक्ष मकरमान श्रेष्ठले वडामा रहेका सबै घरमा क्रमशः नम्बर वितरण गरिने बताउनुभयो । उहाँले हाल ८०० वटा नम्बर प्लेट आइसकेको जानकारी दिँदै बाँकी घरधुरीमा पनि आवश्यक बजेट सुनिश्चित गरेर आगामी वर्ष काम पूरा गरिने जानकारी दिनुभयो ।

घर मात्रै होइन, खाली घडेरीहरुमा पनि नम्बर जडान गरिनेछ ।


उल्लेखित वडा कालिकाको पदमपुर क्षेत्रअन्तर्गत पर्छ, जुन चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रबाट बस्ती स्थानान्तरण गरेर व्यवस्थितरूपमा बसोबास गराइएको हो । यो क्षेत्र प्लानिङअनुसार विकास भएको हुँदा सबै सडक र बस्तीहरू एकनास देखिन्छन्, जसले गर्दा बाहिरबाट आउने व्यक्तिका लागि पहिचान गर्न कठिन हुने स्थिति हटाउने उद्देश्यले यो प्रविधि प्रयोगमा ल्याइएको हो ।

Share:

सम्बन्धित समाचारहरु