प्राप्त सुझावको आधारमा आगामी वर्षको नीति तथा कार्यक्रम आउँछ नगर प्रमुख रेग्मी

आधारभूत आवश्यकतालाई लक्षित गरेर आगामी बजेट, नीति तथा कार्यक्रम ल्याउन कालिकालाई सुझाव

चितवन, २७ जेठ । आगामी आर्थिक वर्ष २०८१-०८२ मा नागरिकको आधारभूत आवश्यकतालाई लक्षित गरेर आफ्नो बजेट, नीति तथा कार्यक्रम ल्याउन कालिका नगरपालिकालाई सरोकारवालाहरुले सुझाव दिएका छन् । बजेट, नीति तथा कार्यक्रमको तयारीमा जुटेको पालिकाले आज आयोजना गरेको बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले आधारभूत आवश्यकतालाई पहिलो प्राथमिकतामा राख्न सुझाव दिएका हुन ।

पूर्वाधार निर्माणसँगै सीपमूलक कार्यक्रमलाई प्राथमिकतामा राख्न सुझाएका छन् । कालिका वडा नं. ५ गढीमाई टोलका अध्यक्ष टिकाराम सुवेदीले शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी, बन, किसान, महिला, जनजाति, दलित सबैलाई संवोधनहुनेगरी नीति तथा कार्यक्रम ल्याउन सुझाव दिनुभयो । पालिका भित्रका सबैखालको भूगोललाई बुझेर स्थानीयको आवश्यकता र विभिन्न टोल विकास संस्थाहरुले दिएको योजना बमोजिम कार्यक्रम बनाउन आग्रह गर्नुभयो । सहभागीहरुले बजार व्यवस्थापन देखि टोल विकास सम्मको विषयमा सुझाव दिएका छन् ।

कार्यक्रममा बोल्दै नगर प्रमुख विनोद रेग्मीले नागरिकले दिएको सुझावको आधारमा आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम ल्याउने प्रतिवद्धता जनाउनुभयो । नागरिकले दिएको सुझावलाई सम्पतीको रुपमा ग्रहण गरिनेछ उहाँले भन्नुभयो–‘ प्राप्त सुझावलाई गहणढंगले अध्ययन गरेर यो वर्षको नीति तथा कार्यक्रममा समावेश गरिनेछ ।’

कार्यक्रममा कालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडामणी शर्मा गौतमले सम्बृद्ध कालिका सुखी कालिकाबासी भन्ने नारालाई सार्थक बनाउन सल्लाह सुझाव आवश्यक रहेको बताउनुभयो । प्राप्त सुझावकै आधारमा आगामी वर्षको नीति तथा कार्यक्रम तयार हुने उहाँले बताउनुभयो । रचनात्मक सुझावले भालीको कालिका कस्तो बनाउने भन्ने मार्ग निर्देश तयार हुनेभएकाले पालिकाले आगामी बजेट, नीति तथा कार्यक्रम सार्वजनिकहुनु पूर्वनै सरोकारवालाहरुसँग सुझाव संकल्न गर्न थालिएको बताउनुभयो ।

पालिकाका उपप्रमुख विमला तमाङले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा नगरक्षेत्रभित्रका टोल विकास संस्थाका प्रतिनिधिहरु, स्थानीय बजार व्यवस्थापन समितिका प्रतिनिधिहरु, सामुदायिक विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक लगायत सबै वडा अध्यक्षहरु सहभागि थिए ।

–00–

Share:

सम्बन्धित समाचारहरु