हमासले युद्धविराम प्रस्ताव संशोधन गर्न माग गर्दै पुराना अडान दोहोर्यायो

काठमाडौं १८, जेठ। इजरायलसँग लडिरहेको हमासले अमेरिकाले प्रस्तुत गरेको ६० दिनको युद्धविराम प्रस्तावमा संशोधन आवश्यक रहेको बताएको छ ।

हमासले १० जना इजरायली बन्धकहरूलाई जीवित र १८ जनाको शव फिर्ता गर्न तयार रहेको जनाउँदै त्यसको सट्टा केही प्यालेस्टिनी कैदीहरू रिहा हुनुपर्ने माग गरेको छ ।साथै, हमासले आफ्नो अघिल्ला मागहरू पनि दोहोर्याएको छ, जसमा स्थायी युद्धविराम, सम्पूर्ण इजरायली सेनाको गाजाबाट फिर्ता र गाजामा निरन्तर मानवीय सहायता सुनिश्चित हुनुपर्ने मागहरू छन् । यी मागहरू हाल अमेरिकी प्रस्तावमा समावेश छैनन् ।

यद्यपि, हमासले अमेरिकी प्रस्तावलाई स्पष्ट रूपमा अस्वीकार पनि नगरेको र स्वीकार पनि नगरेको बीबीसीले जनाएको छ । उता, अमेरिकी अधिकारीहरूले भने इजरायलले उक्त युद्धविराम प्रस्ताव स्वीकार गरिसकेको जनाउँदै अब हमासले पनि प्रस्ताव स्वीकार गर्नुपर्ने बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व विशेष दूत स्टिभ विटकोफले हमासले प्रस्तुत प्रस्ताव निःशर्त रूपमा स्वीकार गर्नुपर्ने बताएका छन् । उनले एक विज्ञप्तिमा भनेका छन्, “मलाई अमेरिकाले अघि सारेको प्रस्तावमा हमासको प्रतिक्रिया प्राप्त भएको छ, जुन पूर्ण रूपमा अस्वीकार्य छ । यसले शान्ति प्रक्रियालाई पछाडि धकेल्छ ।”

उनले थपे, “हमासले प्रस्तावलाई वार्ताको आधारका रूपमा स्वीकार गर्नुपर्छ, ताकि हामी अर्को साता वार्ता सुरु गर्न सकौं । यही मात्र उपाय हो जसले ६० दिनको युद्धविराम चाँडै लागू गर्न सक्छ ।” इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले पनि अमेरिकी प्रस्ताव स्वीकार गरिसकेको पुष्टि गरेको छ । “इजरायलले आफ्ना बन्धकहरूको रिहाइका लागि विटकोफको प्रस्ताव स्वीकार गरिसकेको छ,” इजरायली पक्षले भनेको छ, “तर हमास अझै पनि आफ्नो पुरानै अडानमा कायम छ ।”

गाजाबाट इजरायली सेनाको पूर्ण फिर्ती, स्थायी युद्धविराम र मानवीय सहायता सुनिश्चित गर्नुपर्ने मागमा हमास अडिग छ । हमासलाई अमेरिका, बेलायत र युरोपेली संघले आतंकवादी संगठनको सूचीमा राखेका छन् ।

Share:

सम्बन्धित समाचारहरु