मौरी पकेट कार्यक्रम : तीन वर्षमा ६० लाख लगानी,कालिकालाई मौरीको हब बनाउने योजना

मौरीपालनमा समृद्धिको मिठास : कालिका १० का कृषकको व्यावसायिक सफलता

– सन्तकुमार चौधरी
कालिका (चितवन),१४ जेठ। कालिका नगरपालिका–१० का दुर्गालाल तामाङ तीन दशकदेखि व्यावसायिक मौरीपालन गर्दै आएका सफल कृषक हुन्। २०६९ सालमा २० वटा घारबाट सुरु गरेको यात्रा अहिले १४७ घारमा फैलिएको छ। यो वर्ष मात्रै उनले २६ सय क्विन्टल मह उत्पादन गरेका छन्। काठमाडौँबाट व्यापारीहरू मह खरिद गर्न उनीकै घरमै आइपुग्ने गरेका छन्। महको प्रतिकिलो मूल्य रु. ३५० देखि ४५० सम्म पर्न गएको दुर्गालाल बताउँछन्।

वडाकै अर्का कृषक मनोज तामाङ पनि ११ वर्षदेखि मौरीपालन व्यवसायमा सक्रिय छन्। उनले १ लाख रुपैयाँको लगानीबाट सुरु गरेको व्यवसायमा अहिले १०० वटा घार छन्। “रोग र भोकबाट जोगिएको छु, यहाँभन्दा बढी खुसी के चाहियो?” भन्छन् मनोज।

खेतीबालीमा विषादीको प्रयोग र चरिचरनको कमीले मह उत्पादनमा असर परेको कृषकहरूको गुनासो छ। मनोजका अनुसार मौरीको चरिचरनका लागि चितवनबाट रोल्पा, प्यूठानजस्ता पहाडी क्षेत्रमा लैजानुपर्ने अवस्था छ, जहाँ चिउरीका रुख पर्याप्त पाइन्छन्। यद्यपि, तोरी फुल्नेबेला भने चितवनमै पर्याप्त चरिचरन हुने उनले बताए।

तीन दोभानका सिद्वीलाल चेपाङ पनि व्यावसायिक मौरीपालक हुन्। उनले १५० वटा घारमा मौरी पालेका छन्। कालिका–१० र ११ चेपाङ बहुल पहाडी क्षेत्रहरू हुन् जहाँ वनजंगल नजिक भएकाले चरिचरनको राम्रो सुविधा छ। यही कारण यहाँका कृषकहरू मौरीपालनतर्फ आकर्षित भएका छन्।

हाल वडा नं. १० र ११ मा २२ जना मौरीपालक कृषकहरू छन्, जसले सिद्धी सपना उद्यमी मौरी कृषक समूह गठन गरेर व्यवसाय सञ्चालन गरिरहेका छन्। उत्पादन र ज्ञान–सीप आदानप्रदानमा समूहको ठूलो भूमिका छ।

मौरीको हब बनाउने योजना –

कालिका नगरपालिका मौरीपालनलाई समर्पित हब बनाउने योजना अघि बढाइरहेको छ। कृषकहरूको सक्रियता र उत्पादनको सन्तोषजनक अवस्थाले कालिकाले देशमै मौरीपालनको नेतृत्व गर्न सक्ने अवस्था बनिसकेको नगर प्रमुख विनोद रेग्मी बताउँछन्।

“यो आर्थिक वर्षको नीति तथा कार्यक्रममा मौरी व्यवसायलाई प्राथमिकतामा राख्नेछौं। कृषकको लगानी जोगाउन र प्रोत्साहन गर्न नीति निर्माण हुँदैछ,” रेग्मीले भने।

नगर उपप्रमुख विमला तामाङका अनुसार लगानी अनुसारको उत्पादन भईरहेकोले मौरीपालनमा राम्रो सम्भावना देखिएको छ। “कृषकहरुलाई तालिम, रोग निदान र बजारीकरणमा थप योजना बनाइँदैछ,” उनले बताइन्। नगरपालिकाले अहिले स्थानीय कार्यक्रमहरूमा मायाको चिनोस्वरूप स्थानीय मह वितरण गर्न थालेको छ। यस्तै, अन्य कार्यक्रमहरूमा पनि महलगायत स्थानीय उत्पादनलाई मायाको चिनोको रूपमा प्रयोग गर्न जोड दिइएको छ, जसले स्थानीय बजार प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ।

५० प्रतिशत अनुदानमा मौरीका घार वितरण –

आर्थिक वर्ष २०८१- ०८२ को विनियोजित बजेट अन्तर्गत ५० प्रतिशत अनुदानमा ६ जना किसानलाई १०३ वटा मौरीका घार वितरण गरिएको हो। घार वितरण कार्यक्रममा नगर प्रमुख विनोद रेग्मी, उपप्रमुख विमला तामाङ, वडा नं. १० का वडा अध्यक्ष नरजंग प्रजा र अन्य वडा सदस्यहरुको रोहबर रहेको थियो।

“व्यवसायिक रुपमा मौरीपालनगर्ने कृषकहरुलाई लक्षित गरेर उनीहरुको मनोबल बढाउन घार सहयोग गरिएको हो,” वडा अध्यक्ष प्रजाले जानकारी दिए।
मौरीको घार किन्दा प्रतिघार रु. ३,४०० लागत पर्नेछ, जसको ५० प्रतिशत लागत किसानले बहन गरेका छन्।

मौरी पकेट कार्यक्रम : तीन वर्षमा ६० लाख लगानी-

कालिकामा आर्थिक वर्ष २०७८- ०७९ देखि २०८१-०८२ सम्म मौरी पकेट कार्यक्रम सञ्चालनमा रहेको छ। नगरपालिकाले तीन आर्थिक वर्षका लागि रु. ६० लाख बराबरको कार्यक्रम ल्याएको हो, जसमा ५० प्रतिशत कृषकको लगानी रहेको छ। कालिका नगरपालिकामा हाल ८१ जना व्यवसायिक मौरीपालनगर्ने कृषक छन्। तीमध्ये ४८ जनाले मौरी फर्म दर्ता गरेर व्यवसाय सञ्चालन गरिरहेका छन्।
कृषि शाखाका प्राविधिक सहायक गौरव रानाभाटका अनुसार कालिकामा ४ हजार ८८० वटा मौरीका घार छन्, जसमा करिब रु. १९ करोड ५ लाख २० हजार लगानी भएको छ।

नगर क्षेत्रभित्र प्रतिवर्ष करिब १२२ टन मह उत्पादन हुने गरेको जानकारी उनले दिए।

Share:

सम्बन्धित समाचारहरु