नारायणगढमा पार्किङ समस्या समाधानमा भरतपुर महानगरले सक्रियता देखायो

चितवन, साउन ५ – नारायणगढलगायत मुख्य बजार क्षेत्रमा बढ्दो पार्किङ समस्याको समाधानका लागि भरतपुर महानगरपालिका सक्रिय बनेको छ। ६ लेनको सडक विस्तारपछि सडक सहज भए पनि अव्यवस्थित पार्किङले समस्या निम्त्याएको छ।

महानगर यातायात शाखाका प्रमुख बालकृष्ण थपलियाका अनुसार लायन्सचोकको खाली जग्गा र पुलचोकस्थित नारायणी नदी किनारलाई तत्काल निःशुल्क पार्किङस्थलका रूपमा प्रयोग गरिनेछ। साथै, भवनहरूमा रहेको बेसमेन्ट पार्किङको अभिलेख सङ्कलन गर्ने तयारी पनि भइरहेको छ।

महानगरले पार्किङ शुल्क असुलीका लागि सङ्घ-संस्थाबाट निवेदन माग गर्ने र शुल्क असुलीको अनियमितता नियन्त्रण गर्न निगरानी बढाउने जनाएको छ।

कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले बजार क्षेत्रको सौन्दर्यीकरण र ट्राफिक सहजताका लागि गम्भीर प्रयास भइरहेको जानकारी दिनुभयो। जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक गायत्रीराज शर्माले अव्यवस्थित पार्किङ व्यवस्थापन चुनौतीपूर्ण रहेको भन्दै महानगरसँग सहकार्य भइरहेको बताए।–00–

Share:

सम्बन्धित समाचारहरु