काठमाण्डौं, १३ जेठ । हाल देशमा पश्चिमी वायु, स्थानीय वायु तथा बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभागमा मौसम सफादेखि आंशिक बदलीको अवस्था रहनेछ। पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका एक-दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ।
त्यसैगरी, देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना पनि रहेको छ।
आज राति मधेश, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भूभागमा मौसम सफादेखि आंशिक बदली रहने अनुमान गरिएको छ।
मधेश प्रदेशसहित अन्य प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा र अन्य भागमा एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ।


