काठमाडौं , १३ जेठ। धादिङको थाक्रे गाउँपालिका–७ मा रहेको सोताङ खोलाको पुरानो पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ।
बागमती प्रदेश ट्राफिक कार्यालयका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) नरेशराज सुवेदीका अनुसार पुलमा क्षति भएपछि अहिले सडक पूर्णरूपमा बन्द गरिएको छ र वैकल्पिक डाइभर्सनको काम सुरु गरिएको छ। सडक बन्द हुँदा काठमाडौं प्रवेश गर्ने तथा काठमाडौंबाट बाहिरिने सवारी साधनहरू र तीमा सवार यात्रुहरू बीच बाटोमै रोकिएका छन्। अत्यावश्यक सवारीहरू समेत प्रभावित बनेका छन्।
सोताङ खोलामा हाल नयाँ पुल निर्माणको काम भइरहेको छ। सोही क्रममा पुरानो पुलको छेउमै निर्माण कार्य भइरहेका कारण उत्पन्न कम्पन (भाइब्रेसन) का कारण पुरानो पुलमा क्षति पुगेको अनुमान गरिएको छ। “पुरानो पुल चर्किएको छ, साइडमा ठूलो भ्वाङ परेको छ। यात्रुको सुरक्षालाई ध्यान दिँदै सवारी आवागमन पूर्ण रूपमा रोकेर डाइभर्सनको काम अगाडि बढाइएको छ,” एसपी सुवेदीले जानकारी दिए।
स्रोतका अनुसार डाइभर्सनको काम सम्पन्न नभएसम्म सडक सञ्चालन नहुनेछ। यात्रुहरूलाई वैकल्पिक व्यवस्था तथा जानकारीका लागि ट्राफिक प्रहरीको टोली खटाइएको छ।–00–


