भरतपुर, ६ जेठ । चितवनको भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदीमा खुट्टा धुने क्रममा चिप्लिएर वेपत्ता भएका युवकको खोजीका लागि सशस्त्र प्रहरी बल, नेपालले गोताखोर टोली परिचालन गरेको छ।
दोलखा चरिकोट घर भई हाल पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१४ मा अवस्थित सिजी कम्पनीमा कार्यरत २७ वर्षीय सचिन कार्की मंगलबार दिउँसो नारायणी नदीमा वेपत्ता भएका हुन्। खाजा खाएर नदी किनारमा पुगेका दुई जना युवकमध्ये कार्की पानीमा चिप्लिएर हराएका हुन्।
घटनापछि सशस्त्र प्रहरी बल नेपाल नम्बर १७ गण, चितवनबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको कमाण्डमा पाँच जना गोताखोरसहित १६ जना विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा टोली परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मंगलबार साँझसम्म पनि युवकको अवस्था पत्ता लाग्न सकेको छैन। खोजी कार्य निरन्तर जारी रहेको जनाइएको छ।–00–


