जिल्ला समन्वय समिति प्रमुख -अहिलेको आवश्यकता उत्पादनमा आधारित सहकारी अभियान

चितवन जिल्ला बहुउद्देश्यीय सहकारी संघको १२ औं वार्षिकोत्सव सम्पन्न

चितवन, ५ जेठ ।  चितवन जिल्ला बहुउद्देश्यीय सहकारी संघ लिमिटेडको १२ औं वार्षिकोत्सव भरतपुरस्थित जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको छ। समारोहमा जिल्लाभरिका विभिन्न सहकारी संघ-संस्थाका प्रतिनिधिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष भिष्मप्रसाद खनालले गरेका थिए भने प्रमुख अतिथि जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी थिए। विशिष्ठ अतिथिका रुपमा दुग्ध विकास बोर्ड बागमती प्रदेशका कार्यकारी उपाध्यक्ष हरिप्रसाद पौडेल सहभागी भएका थिए।

प्रमुख अतिथि नारायणप्रसाद अधिकारीले सहकारी अभियानले गाउँघरको आर्थिक रुपान्तरणमा महत्त्वपूर्ण भूमिका खेलेको बताउँदै अहिलेको आवश्यकता उत्पादनमा आधारित सहकारी अभियान रहेको धारणा राखे। उनले संघले छाता संस्थाको रूपमा अग्रसरता लिनुपर्ने उल्लेख गरे।

विशिष्ठ अतिथि हरिप्रसाद पौडेलले कृषिमा लगानी बढाउँदै सहकारीले रोजगारी सिर्जना र आम्दानी वृद्धि गर्न सक्ने स्पष्ट पारे। उनले दुग्ध, कृषिजन्य उत्पादन र उपभोक्ता सेवामा सहकारीको सशक्त हस्तक्षेप आवश्यक रहेको बताए।

अध्यक्ष भिष्मप्रसाद खनालले संघको विगतको यात्रा, उपलब्धि र भविष्य योजना प्रस्तुत गर्दै समन्वय, पारदर्शिता र उत्तरदायित्व अझ मजबुत बनाउँदै अघि बढ्न सबैलाई आह्वान गरे।

जिल्ला सहकारी संघ चितवनका वरिष्ठ उपाध्यक्ष प्रेमनाथ दुवाडीले सहकारीबीच समन्वयका लागि संघ झनै सक्रिय बन्नुपर्ने बताए। बचत तथा ऋण सहकारी संघका अध्यक्ष विद्या कोइरालाले ऋण प्रवाह र असुलीमा सहकार्य आवश्यक रहेकोमा जोड दिइन्। दुग्ध उत्पादक सहकारी संघ चितवनका अध्यक्ष किशोर बगालेले उत्पादनमुखी क्रियाकलापमा सहकार्यको वातावरण बनाउनु पर्ने धारणा राखे।

संघका संस्थापक तथा निवर्तमान अध्यक्ष दिनेश कुमार चुकेले सहकारी आन्दोलनको शुरुवातदेखि हालसम्मको यात्रा स्मरण गर्दै संस्थागत विकासका लागि सबै तहबाट लगनशीलता आवश्यक रहेको उल्लेख गरे।

कार्यक्रम अन्तर्गत ऋण असुलीसम्बन्धी प्रभावकारी तालिम समेत सञ्चालन गरिएको थियो। राष्ट्रिय सहकारी बैंकका प्रशिक्षक नवकुमार अधिकारीले सहभागीहरुलाई व्यावसायिकता, ऋणी वर्गीकरण, जोखिम व्यवस्थापन र रिकभरी रणनीतिबारे जानकारी दिएका थिए।

बखान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका प्रतिनिधि बुद्धिराज गुरुङले चितवनमा सहकारी आन्दोलन कसरी सुरु भयो भन्ने विषयमा ऐतिहासिक पृष्ठभूमि प्रस्तुत गर्दै स्थानीय आवश्यकता र समृद्धिको मूल आधारको रूपमा सहकारी प्रणालीको भूमिकामा जोड दिए।

कार्यक्रमको समापनतर्फ अध्यक्ष खनालले सबै अतिथि, सहभागी तथा सदस्य संस्थाहरुमा आभार प्रकट गर्दै संघले आगामी दिनमा झनै परिणाममुखी कार्यक्रमहरु सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।–00–

Share:

सम्बन्धित समाचारहरु