अमेरिका–यूएईबीच २०० अर्ब डलरभन्दा बढीको सम्झौता, अन्तरिक्ष यानदेखि ग्यास परियोजनासम्म समावेश

वासिङ्टन, सिन्ह्वा। संयुक्त राज्य अमेरिकाले संयुक्त अरब इमिरेट्स (यूएई) सँग २०० अर्ब अमेरिकी डलरभन्दा बढीको आर्थिक तथा प्रविधि साझेदारी घोषणा गरेको छ। उक्त सम्झौतामा अत्याधुनिक अन्तरिक्ष यान, ऊर्जा विकास, र महत्वपूर्ण खनिजहरूको उत्पादन तथा व्यापार समावेश गरिएको छ।

ह्वाइट हाउसले बिहीबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार जीई एरोस्पेसले इतिहाद एयरवेजसँग १४.५ अर्ब डलरको जेट इन्जिन सम्झौता गरेको छ। उक्त सम्झौताअन्तर्गत इतिहादले जिइ इन्जिनद्वारा सञ्चालित बोइङ विमानहरू खरिद गर्नेछ।

त्यस्तै, इमिरेट्स ग्लोबल एल्युमिनियम (EGA) ले अमेरिकाको ओक्लाहोमा राज्यमा चार अर्ब डलरको प्राथमिक एल्युमिनियम गाल्ने परियोजनामा लगानी गर्ने उल्लेख छ। यसले अमेरिका–यूएई औद्योगिक सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने बताइएको छ।

ऊर्जा क्षेत्रमा पनि ठूला सम्झौता भएका छन्। एक्सोनमोबिल, अक्सिडेन्टल पेट्रोलियम, र इओजी रिसोर्सेजले अबुधाबीको नेसनल आयल कम्पनी (ADNOC) सँग ६० अर्ब डलरको तेल तथा प्राकृतिक ग्यास उत्पादनका लागि सहकार्य गरिरहेका छन्।

यसका साथै, आरटीएक्स कम्पनीले इमिरेट्स ग्लोबल एल्युमिनियम र यूएईको काउन्सिल तवाजुनसँग मिलेर ‘ग्यालियम प्रोजेक्ट’ नामक रणनीतिक खनिज परियोजनामा साझेदारी गरिरहेको छ।

उक्त सम्झौता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको साउदी अरब र कतार भ्रमणपछि यूएई भ्रमणका क्रममा सार्वजनिक गरिएको हो।–00—

Share:

सम्बन्धित समाचारहरु