काठमाण्डौं, २ जेठ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनका कारण हिमालहरू असाधारण तनावको सामना गरिरहेको बताएकी छन्।
सगरमाथा संवादको उद्घाटन सत्रमा शुक्रबार बोल्दै उनले, “हाम्रा हिमनदीहरू तीव्र गतिमा पग्लिरहेका छन्, सहस्राब्दीयौं पुराना संरचनाहरू हराउँदैछन्,” भनिन्। उनले बाढी, हिमताल विस्फोट, खडेरी, पानीको अभाव र डढेलो जस्ता घटनाले जनजीवनमा गम्भीर असर पारेको बताइन्।
आरजुले हिमालयलाई राष्ट्रिय गौरव र सांस्कृतिक सम्पदा भन्दै यसको संरक्षणमा अन्तर्राष्ट्रिय सहकार्य जरुरी रहेको बताइन्। उनले २०४५ भित्र शून्य ग्रीनहाउस ग्यास उत्सर्जन गर्ने नेपाल सरकारको लक्ष्य स्मरण गराउँदै, जलवायु वित्तीय स्रोतहरूको आवश्यकतामा जोड दिइन्।
“जलवायु परिवर्तन एक वैश्विक संकट हो, यसको समाधानका लागि न्यायपूर्ण अन्तर्राष्ट्रिय गठबन्धन आवश्यक छ,” मन्त्री राणाको भनाइ छ।–00–


