चितवन — लगातार दुई दिनदेखिको तिव्र हावाहुरीले चितवनको कालिका नगरपालिका क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। स्थानीय संरचना, घर तथा शैक्षिक संस्थाहरूमा लाखौं मूल्य बराबरको क्षति भएको छ।
कालिका–३, बनकट्टा स्थित श्री आधारभूत विद्यालयको दुई कोठे भवनको टिनको छानो उडाउँदा विद्यालयमा रहेको ६ थान कम्प्युटर, १ थान प्रिन्टर, शैक्षिक सामग्री तथा खेलकुद सामग्रीमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। कालिका–२, कमलपुर टोलस्थित गीता शाहको पक्की घरको टिनको छानो उडाइएको छ। त्यस्तै, स्थानीय नारायण रेग्मी र रामबहादुर भण्डारीको घरको दुई कोठाको छानो उडाउँदा टेलिभिजन, फ्रिज, पंखा र खाद्यान्न सामग्रीमा क्षति पुगेको छ।
कालिका–२ कै जनविकास टोलमा ब्लकले बनेको घरमा रूख ढल्दा दुई कोठामा क्षति पुगेको जनाइएको छ। अमृतटोल बस्ने सुनकुमारी तामाङको एकतले कच्ची घरमा पनि २० वटा जस्ता पाता, काठ तथा लत्ता कपडा उडाएर क्षति पुगेको हो।

त्यसैगरी, भरतपुर–१ देवघाटस्थित बसपार्कमा पार्किङ गरी राखिएको ना ४ ख ६३७३ नम्बरको बसमाथि पिपलको रूख ढल्दा बस पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। त्यहाँ पार्क गरिएको बा.प्र.०३–००१ ह २०८२ नम्बरको अटो र ना ५३ प ६९३६ नम्बरको मोटरसाइकलमा समेत रूखको हाँगाले लागेर क्षति पुगेको प्रहरीले जनाएको छ।
स्थानीयवासीहरूले तत्काल उद्धार र राहतको माग गरेका छन्। प्रभावित क्षेत्रहरूमा स्थानीय सरकार तथा सुरक्षा निकायको टोली निरीक्षणमा खटिएको छ।

