गभर्नर नियुक्ति दुई–चार दिनमै हुने : सञ्चारमन्त्री गुरुङ

काठमाडौं, १ जेष्ठ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल राष्ट्र बैंकको गभर्नर दुई–चार दिनमै नियुक्ति हुने बताएका छन्।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री गुरुङले गभर्नर नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए। उनले अब ढिला नगरी केही दिनभित्रै गभर्नर नियुक्त हुने बताए। गभर्नर सिफारिसका लागि गठित समितिबारे जानकारी दिँदै उनले भने, “नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि हामीले सिफारिस समिति पहिला अर्थमन्त्रीज्यूको संयोजकत्वमा डा. विश्व पौडेल र डा. विजयनाथ भट्टराईको समिति बनाएका थियौं। विजयनाथ भट्टराईले राजीनामा दिनुभयो, त्यसपछि पूर्वगभर्नर महाप्रसाद अधिकारीलाई समितिको सदस्य बनायौं।”

तर, पछिल्लो समय डा. विश्व पौडेलले पनि राजीनामा दिनुपर्ने परिस्थिति बनेपछि सरकारले पुनः समिति पुनर्गठन गरेको उनले बताए। उनका अनुसार उपप्रधान तथा अर्थमन्त्रीको संयोजकत्वमा महाप्रसाद अधिकारी र डा. पोषराज पाण्डे सदस्य रहेको तीन सदस्यीय सिफारिस समिति पुनर्गठन गरिएको हो।

“अब तलमाथि नभइकन दुई–चार दिनमै हामीले नयाँ गभर्नर पाउनेछौं,” मन्त्री गुरुङले स्पष्ट पारे।

त्यस्तै, मन्त्री गुरुङले सगरमाथा संवाद कार्यक्रमले जलवायु परिवर्तनप्रति विश्वको ध्यान केन्द्रित गराउने विश्वास व्यक्त गरे। हिमाली क्षेत्रका देशहरू जलवायु परिवर्तनका कारण बढी प्रभावित भएको उल्लेख गर्दै उनले सगरमाथा संवादले विश्वव्यापी एजेन्डा स्थापित गर्ने अपेक्षा व्यक्त गरे।

Share:

सम्बन्धित समाचारहरु