भारत–चीन उच्चस्तरीय टेलिफोन वार्ता: क्षेत्रीय शान्ति र आतङ्कविरोधी कदममा जोड

काठमाडौं,   २८ वैशाख — भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) अजित डोभाल र चीनका विदेशमन्त्री वाङ यीबीच शनिबार टेलिफोन वार्ता सम्पन्न भएको छ।

चिनियाँ विदेश मन्त्रालयले वार्ताबारे जारी गरेको विज्ञप्तिअनुसार, २०२५ मे १० मा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य तथा केन्द्रीय विदेश मामिला कार्यालयका निर्देशक वाङ यीले भारतीय एनएसए डोभालसँग फोनमार्फत संवाद गरेका हुन्।

वार्ताका क्रममा डोभालले हालै भारतको पहलगाममा भएको आतंकवादी आक्रमणमा गम्भीर क्षति पुगेको उल्लेख गर्दै भारत कडा आतङ्कविरोधी कदम चाल्न बाध्य भएको बताएका छन्।

उनले भनेका छन्, “भारत युद्ध चाहँदैन। युद्ध कुनै पनि पक्षको हितमा हुँदैन। भारत र पाकिस्तान युद्धविरामको प्रतिबद्धतामा छन् र क्षेत्रीय शान्ति पुनःस्थापनाको प्रयास गरिरहेका छन्।”

टेलिफोन संवादमा वाङ यीले पहलगाम आक्रमणप्रति चीनको निन्दा व्यक्त गर्दै भने, “चीन सबै प्रकारका आतङ्कवादको विरोध गर्छ।” उनले वर्तमान विश्वपरिस्थिति जटिल रहेको भन्दै एशियाली शान्ति कायम राख्नु अनिवार्य रहेको स्पष्ट पारे। उनले थपे, “भारत र पाकिस्तान परिवर्तन गर्न नसकिने छिमेकी हुन् र यी दुवै चीनका पनि छिमेकी हुन्। चीन भारतको शान्तिपूर्ण अडानको कदर गर्छ।”

चीनले भारत र पाकिस्तानले वार्तामार्फत स्थायी शान्तिको बाटो समात्नुपर्नेमा पनि जोड दिएको छ। विज्ञप्तिमा भनिएको छ, “यो न केवल यी दुई मुलुकको, बरु सम्पूर्ण विश्वको हितमा हुनेछ।”–00–

Share:

सम्बन्धित समाचारहरु