आईतबारको बैठकका लागि सांसदहरूलाई अनिवार्य उपस्थितिको निर्देशन

नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न एमालेको ह्वीप

काठमाण्डौं,२६ बैशाख । सत्तारूढ नेकपा (एमाले) ले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ।

एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले शुक्रबार एक सूचना जारी गर्दै वैशाख २८ गते आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा अनिवार्य रूपमा उपस्थित भई नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न निर्देशन दिएका हुन्।

👉 “नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न सबै सांसदलाई ह्वीप”

ह्वीपमा भनिएको छ, “सम्माननीय राष्ट्रपतिज्यूद्वारा मिति २०८२ वैशाख १९ गते संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम मिति २८ गतेको बैठकमा निर्णयार्थ पेस हुने भएकाले संसदीय दलका सम्पूर्ण सदस्यहरू अनिवार्यरूपमा उपस्थित भई समर्थन गर्नुपर्नेछ।”

एमालेका प्रमुख सचेतक बर्तौलाले नीति तथा कार्यक्रमलाई प्रगतिशील, व्यवहारिक र जनमुखी भएको दाबी गरेका छन्।

👉 “जनतामा आशा र उत्साहको सञ्चार गर्न नीति कार्यक्रम ल्याइएको हो”

उनले भने, “देशमा व्याप्त गहिरो निराशा हटाउन, जनतामा आशा र उत्साहको सञ्चार गर्न, देशलाई तीव्र आर्थिक वृद्धितर्फ लैजान यो नीति तथा कार्यक्रम ल्याइएको हो। यो कार्यक्रम विकास, समृद्धि, सुशासन र सेवा प्रवाहमा केन्द्रित छ।”

बर्तौलाका अनुसार, संसदीय दलको बैठकले नीति तथा कार्यक्रमको पूर्ण समर्थन गर्ने निर्णय गरिसकेको छ। उनले भनिरहेका छन्, “समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न, लोकतन्त्र सुदृढ गर्न, सामाजिक न्याय र समाजवादका आधार तयार गर्न तथा राजनीतिक स्थायित्वमार्फत नीतिगत स्थायित्व सुनिश्चित गर्न यो कार्यक्रम मार्गनिर्देशक छ।”–00–

Share:

सम्बन्धित समाचारहरु