सन्तकुमार चौधरी । सेतोनेपाल —
चितवन, २६ बैशाख । अग्रिम अधिकारी ६ वर्षका भए । भरतपुर वडा नं.–२१ पार्वतीपुरका घर भएका अग्रिम विशेष कथा बोकेका बालक हुन्।
बुबा नारायण अधिकारी र आमा प्रभा अधिकारीका दोस्रो सन्तान हुन् उनी । उनलाई जन्मजात बौद्धिक अपाङ्गता छ । २०७६ साल बैशाख ३ गते नियमित स्वास्थ्य परीक्षणका लागि आमा प्रभा भरतपुर सरकारी अस्पताल पुगेकी थिइन् ।
यो मिति अग्रिम जन्मनु २१ दिन अघिको हो। त्यति बेला सम्म चिकित्सकले गर्भमा रहेका अग्रिमको स्वास्थ्य राम्रो भनिरहेका थिए । तर, त्यस दिनएक्लै गर्भजाँच गराउन अस्पताल पुगेकी प्रभालाई स्वास्थ्य परीक्षणका क्रममागर्भको बच्चालाई सास फेर्न गाह्रो भइरहेकोे बताए । तुरुन्तै शल्यक्रिया मार्फत बच्चा जन्माउन भनियो । सरकारी अस्पतालमा आइसियु कक्ष खाली थिएन । त्यसपछि प्रभा भरतपुर स्थित चितवन मेडिकल कलेज पुगिन्।
डाक्टरले तत्काल शल्यक्रिया गरेर अग्रिमलाई निकाले । अग्रिम जन्मिएपछि चिकित्सकले मुटुमा समस्याहुन सक्ने शंका व्यक्त गरे। जाँचगर्दा अग्रिमको मुटुमा प्वाल देखियो। उमेरसँगै कतिपय बालबालिकाको मुटुको प्वाल आफै बन्दहुने चिकित्सकले बताएका थिए । तर अग्रिमको त्यस्तो भएन । ६ -६ महिनामा मुटु जाँचगर्दा प्वाल नपुरिएको देखिए पछि अग्रिमलाई काठमाडौंस्थित सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रसम्म लगियो।
थाहा छैन प्रभाले छोराको उच्चारण गरेको आमाशब्द सुनेर मातृ हृदय भरिपूर्ण गर्न पाउँछिन्,पाउँदिनन् । तर, छोराको बानीव्यवहारमा सुधार गराउने ध्याउन्नमाभने तल्लीन छन् उनी ।
अग्रिम स्वास्थ्य कठिनाइसँग जुधिरहे । त्यहाँपनि समस्या समाधान भएन। बरु यसैबीच दुईपटक निमोनिया समेत भएको आमाले बताइन्। अग्रिमको शरीर लुलो थियो । यतिसम्म कि उनले आफ्नै टाउकोको भार समेत थेग्न सक्दैनथे ।बौद्धिक अपाङ्गता अर्थात् अग्रिम डाउन सिन्ड्रोम भएको बालकहुन् । डाक्टरका अनुसार यस्तो समस्याहुँदा बालबालिकाको शारीरिक विकास ढिलो हुन्छ । अग्रिमको पनि १८ महिनाको उमेरमा मात्र दाँत उम्रिएको थियो। अहिले ६ वर्षको भइसक्दापनि अग्रिम खाना चपाएर खान जान्दैनन् । दिसापिसावबारे जानकारी दिन सक्दैनन्। यतिसम्म कि उनको बोली समेत फुटेको छैन । कसैले बोलाएको सुन्छन् । तर, प्रतिक्रिया दिनजान्दैनन् ।
आमा प्रभाले प्रतिक्षा गरिरहेकी छन्, छोराको आवाजमा गुञ्जिएको त्यो आवाज,– आमा ! थाहा छैन प्रभाले छोराको आमाशब्द सुनेर मातृ हृदय भरिपूर्ण गर्न पाउँछिन् पाउँदिनन् । तर, छोराको बानीव्यवहारमा सुधार गराउने ध्याउन्नमा भने तल्लीन छन् उनी ।

प्रभाको आशामा किरण थपेको छ समावेशी शिक्षा परियोजनाले । प्रभाको घरमा नै खोज्दै पुगेको समावेशी शिक्षा परियोजना मार्फत घरमा आधारित शिक्षा सुरु गर्न राष्ट्रिय बहिरा महासंघ नेपालका प्रतिनिधि पुगेपछि उनमा छोराको सुधार हुनसक्ने आशाको सञ्चार भएको हो । प्रभाको घरमै गएर महासंघको परियोजनामा कार्यरत फिजियोथेरापिस्टले हप्तामा दुईपटक शारीरिक अभ्यास गराउँछन् । जसले गर्दा अग्रिमको शरीरमा सुधार आउनथाल्यो । ओच्छ्यानमै पल्टिरहने उनीविस्तारै टाउको ठड्याउन थाले । बोली व्यवहारमा पनि अलिअलि प्रतिक्रिया दिन र चाल चलन सुधार गर्न थाले।
समावेशी शिक्षा परियोजनाको घरमा आधारित शिक्षा कार्यक्रमका शिक्षक लक्ष्मीकान्त घिमिरेका अनुसार परियोजनाबाट सिकाइ अभ्यास गराउन थालेपछि अग्रिममा परिवर्तन आउन थालेको छ । अहिले शिक्षक आएपछि आफै सिक्ने कोठामा जाने, खेलहरु खेल्ने लगायतका व्यवहार देखाउन थालेका छन् ।
छोरा विद्यालय पुर्याउन ऋण लिएर स्कुटर खरिद-
अग्रिमलाई परिवारले अहिले धनौजी आधारभूत विद्यालय, पटिहानीमा स्रोत कक्षामा भर्ना गरिदिएका छन् । स्रोत कक्षा भएकोले त्यहाँ उनको विद्यालय समयमा हेरचाहपनि हुन्छ । विद्यालयमा भर्ना भएको डेढ महिना मात्र भएको छ । छोटो अवधिमा नै उनले स्कूल र साथीहरुसँग रमाइलो गर्न थालेका छन्।
घरमै अरुबोल्दा धेरै मान्छेहुँदा चिढिने स्वभाव भएका अग्रिम विद्यालय जान सक्छन् भनेर कल्पना समेत गरेका थिएनन परिवारले । वौद्धिक अपाङ्गता भएका बालक हो भनेर भरतपुर महानगरपालिकाले सिफारिस दिएपछि विद्यालयले भर्ना लिएको आमा प्रभाले सुनाइन् । उसको बौद्धिक विकासको आधारमा विद्यालयको सिकाइ मूल्याङ्कन हुँदै जाने व्यवस्था छ । प्रभाका अनुसार स्कुलजान पाए अग्रिम खुसी हुन्छन् । खेल्न पाए ढुक्कै बस्छन् ।
तर, विद्यालयमा स्कुलबसको सुविधा छैन। स्कुल लागेको दिन बिहान ११ बजेसम्म स्कुल लैजाने दिउँसो ३ बजे लिन जाने आमाको नियमित सेड्यूल छ । स्कुल जान रमाउन थालेपनि विद्यालयले बसको सुविधा दिन नसक्दा उनलाई विद्यालय पु¥याउनै सकस छ ।
पढाउन लैजाने दुरी नै घरबाट करिब आधा घण्टा गाडीमा लाग्छ । एक दुई पटक साइकलमा राखेर विद्यालय पुर्याउन जाँदानिकै गाह्रो भएपछि आमा प्रभाले छोराकै लागि समूहबाट ऋण लिएर विद्युतीय स्कुटर खरिद गरेकी छन् ।
साइकलमात्रै चलाउने प्रभालाई स्कुटर किनेपछि पनि सिक्नै हप्तादिन लाग्यो । त्यसपछि छोरालाई विद्यालय स्कुटरमा पुर्याउन थालेकी हुन् । स्कुल पुग्न आधा घण्टा लाग्छ । स्कुटरमापनि छोरा पु¥याउन सजिलो छैन । अगाडी राखेर सलबाट कम्बरमा बाँधेर स्कुल पु¥याउने गरिएको उनले बताइन् । उनैले स्कुटरमा छोरालाई बोकेर स्कुल पु¥याउने र ल्याउने गर्छिन्।

उनी भन्छिन्, — पहिला ओच्छ्यानमा मात्रै सीमित छोरा अहिले स्कुलजान थालेको छ । अब बोलीपनि फुर्छकि भन्ने आशा पलाएको छ।’ परियोजनाले अग्रिमलाई सिकाइमैत्री कुर्सी र टेबल दिएको छ । स्कुलविदा भएपछि घरमै बसेर खेल्ने र अध्ययनगर्ने सहज वातावरण मिलेको छ ।
अग्रिमको परिवार साधारण खेतिकिसानी पेशामानिर्भर छ। आमा प्रभा अधिकारी स्थानीय एभरेष्ट एकेडेमीमा शिक्षक थिइन् । तर, अग्रिम जन्मिएपछि उनको रेखदेखका लागि शिक्षण पेशा त्याग्नुप¥यो । जन्मजात बौद्धिक अपाङ्गता भएको छोराको स्याहार सुसारमा समय दिनुपर्ने भएकाले जागिर र आम्दानीदुबै गुमेको उनले दुखेसो पोखिन्।
गाउँघर नजिक अपाङ्गता भएका छोरालाई पढाउन पहुँचयुक्त विद्यालय नभएको पीडा उनले सुनाइन् । यदि नजिकै स्रोत कक्षाभएको विद्यालय उपलब्ध भएको भए, छोराको पढाइ सजिलो हुने विश्वास उनको भनाइ छ । अब त छोरासँगै आफू पनि बेरोजगार भएर घरमै बस्नुपर्ने बाध्यता आएको बताइन्। स्थानीय जनप्रतिनिधिहरुले पनि उनीहरुको परिवारको अवस्थाबारे चासो नदेखाएको उनले गुनासो गरिन्। त्यतिमात्रै होइन अपाङ्गता भएको बालबालिका घरमा भएपछि सहभागीताको अवसरबाट समेत वञ्चित हुनुपरेको अनुभव उनसँग छ ।
गाउँघरमा कुनै सामाजिक कार्यक्रमहुँदा पनि “यसको बच्चाको अवस्था त्यस्तो छ, आउँदिन होला”भनेर सोध्न समेत नआउने गरेका ेउनले बताइन् । अग्रिमका एक दाजु पनि छन् । उनी अहिले कक्षा ७ मा पढ्दै छन् ।अग्रिमका बाबु जागिर गर्छन् । उनसँग छोरालाई दिने पर्याप्त समय हुँदैन । त्यसैले प्रभा घरमा नहुँदा अग्रिमको साथी उनका ८५ वर्षका हजुरबुबा विष्णुहरी अधिकारी बन्ने गर्छन्। हजुरबुबा विष्णुहरी भन्छन् — बुहारी नहुँदा अग्रिमको साथी मै हुँ ।’ नातिहात समातेर चौतारीसम्म हिँड्न सक्ने हुँदै आएपछि परिवारमा उनी निको हुन्छन् भन्ने आशा पलाएको अनुभूतिहुन थालेको छ ।
नयाँजीवनको बाटो देखाइरहेको समावेशी शिक्षा-
समावेशी शिक्षा परियोजनाले अग्रिम जस्ता धेरै बालबालिकालाई शिक्षा, आत्मसम्मान र नयाँ जीवनको बाटो देखाइरहेको छ । राज्य, समाज र सरोकारवालाहरूको थप सक्रियताले यिनीहरुको जीवनअझ सहज र उज्यालो बनाउन सकिने प्रशस्तै सम्भावनाहरु छन् ।
चितवनमा राष्ट्रिय बहिरा महासंघ नेपाल र अटिजम केयर चितवन सोसाइटीले चितवनको भरतपुर महानगरपालिका र कालिका नगरपालिकामा समावेशी शिक्षा परियोजना सञ्चालनगर्दै आएको छ । विद्यालयजाने उमेरका ४ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरी यो परियोजना कार्यान्वयनमा छ।
स्थानीयतहसँगकै समन्वयमा यहाँ रहेका अपाङ्गता भएका बालबालिकालाई शिक्षाको पहुँचबाट बाहिर नरहुन्् भनेर यो परियोजनाले काम गरेको हो । परियोजना मार्फत भरतपुर र कालिकाका १ सय ४५ जनाविद्यार्थी प्रत्यक्ष लाभान्वित भएका छन्। तीमध्ये भरतपुर महानगरपालिकाका विभिन्न वडामा १ सय १२ जना र कालिका नगरपालिकामा ३३ जना बालबालिका परियोजनामा आवद्ध भएका छन् ।
राष्ट्रिय बहिरा महासंघ नेपालका समावेशी शिक्षा परियोजनाको कार्यक्रम संयोजक सर्मिला तामाङका अनुसार अपाङ्गता भएका बालबालिकाको लागि आवश्यक शिक्षण सामग्री, सहायक उपकरण, विद्यालयहरूमा अनुकुल भौतिक संरचना निर्माण अभिभावकहरु तथा शिक्षकहरूलाई तालिम जस्ता काम परियोजनाले अगाडि बढाइरहेको छ। जसका लागि घुम्ती शिक्षक परिचालन गरिएको छ, जसले नियमित रूपमा घरमै पुगेर बालबालिकाको सिकाइस्तर सुधार्न सहयोग गरिरहेका छन्। साथै, फिजियो थेरापिस्टले घरमै पुगेर शारीरिक अभ्यास (एक्सरसाइज) गराउने सेवापनि दिइरहेका छन् ।
त्यसैगरी, अभिभावकहरूलाई लक्षित गरी बालबालिकाको शारीरिक र बौद्धिक अवस्थामाहुने सुधारको सम्भावनाबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिइन् ।

निष्कर्ष-
अग्रिमको जीवनकथा केवल एउटा बालकको व्यक्तिगत संघर्ष मात्र होइन, अपाङ्गता भएका बालबालिकाप्रति हाम्रो समाज, राज्य र प्रणालीले कस्तो व्यवहार गर्छ भन्ने गहिरो सवाल पनि हो। जन्मँदै बौद्धिक अपाङ्गताबोकेर जन्मेका अग्रिमलाई माया, शिक्षा र साथको खाँचो थियो—जसलाई आमाले आफ्नो जीवन त्यागेर पनि पुरा गर्न खटिरहेकी छन् । गैर सरकारी तहबाट भएपनि समावेशी शिक्षा परियोजनाको तालिम तथा प्रशिक्षण पाएपछि उनले पहिलो पटक जीवनमा सुधारको संकेत देख्न थालेका छन्। तर यी प्रयासहरू अझै अपुग छन् ।
अग्रिमहरूलाई सहजीकरण गर्न हरेक तहका सरकारी तथा गैरसरकारी निकायको थप संलग्नता, स्थानीय स्तरमा पहुँचयुक्त संरचना, र समुदायको सकारात्मक दृष्टिकोण अत्यावश्यक छन्। अग्रिम जस्ता बालबालिकाको उज्यालो भविष्य सुनिश्चितगर्न शिक्षा प्रणाली समावेशीमात्र होइन, संवेदनशील र न्यायपूर्ण पनि हुनुपर्छ ।


