भरतपुर, २५ वैशाख । चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहाबाट ‘घुमौँ सौराहा’ अभियानलाई पुनः निरन्तरता दिइएको छ। आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले व्यवसायी, जनप्रतिनिधि र सरोकारवालाहरूको टोली आजदेखि पश्चिम नेपाल केन्द्रित अभियानमा निस्किएको हो।
चार वर्षअघि पूर्वी नेपालबाट सुरु गरिएको अभियान केही समय स्थगित भए पनि अहिले स्थानीय सरकारसँगको सहकार्यमा पुनः सक्रिय बनाइएको छ। क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डेले मुलुकको तेस्रो प्रमुख पर्यटकीय गन्तव्य सौराहा र चितवनको पर्यटनलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित अभियान अघि बढाइएको जानकारी दिनुभयो।
रत्ननगर नगरपालिका, रत्ननगर पर्यटन प्रवर्द्धन समिति, क्षेत्रीय होटल संघ चितवनसहित पर्यटनसँग जोडिएका विभिन्न संघसंस्थाको सहकार्यमा यो अभियान अघि बढाइएको हो। “चितवनमा पर्यटक आगमन दोब्बर पार्ने लक्ष्यका साथ दोस्रो चरणको अभियान सुरु गरेका छौँ,” अध्यक्ष पाण्डेले भन्नुभयो, “यस अभियानले चितवनको पर्यटन क्षेत्रमा नयाँ ऊर्जा थप्ने विश्वास लिएका छौँ।”
अभियानमा सहभागी टोलीलाई रत्ननगर नगरपालिकाका उपमेयर यादवप्रसाद पाठक र प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले बिदाइ गर्नुभएको थियो। टोलीले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुख सहरमा पुगेर स्थानीय सरकार प्रमुख, जनप्रतिनिधि र व्यवसायीसँग अन्तरक्रिया गरी सौराहा भ्रमणका लागि आग्रह गर्ने कार्यक्रम रहेको छ।
सौराहा प्रवर्द्धन टोलीले लुम्बिनी प्रदेशको नेपालगञ्ज, भैरहवा, बर्दिया; कर्णाली प्रदेशको सुर्खेत; तथा सुदूरपश्चिम प्रदेशको महेन्द्रनगर र कञ्चनपुरमा पुगेर पत्रकार सम्मेलन तथा अन्तरक्रिया कार्यक्रम गर्ने जनाएको छ।
‘घुमौँ सौराहा’ अभियानका संयोजक तथा संघका उपाध्यक्ष गुणराज थपलियाले चितवन आउने पर्यटकको संख्या दोब्बर बनाउने लक्ष्य लिएको जानकारी दिनुभयो। रत्ननगर पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष भेषराज दुवाडीले सौराहाको पर्यटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ब्राण्डिङ गर्ने काम थालिएको बताउनुभयो।–00–


