चितवन | सेतो नेपाल —
भारत र पाकिस्तानबीच पछिल्लो केही दिन यता चुलिँदै गएको तनाव अहिले युद्धसरह स्थितिमा पुगेको छ। भारतको ‘अपरेशन सिन्दूर’ अन्तर्गत पाकिस्तान र पाकिस्तान-प्रशासित कश्मीरमा गरिएको मिसाइल आक्रमणपछि स्थिति अझै भयावह बन्दै गएको छ।
भारतले यस अपरेशनमार्फत ९ वटा आतंकवादी पूर्वाधारहरू निशाना बनाएको दाबी गर्दै ७० जना आतंकवादी मारिएको बताएको छ। भारतले २२ अप्रिलमा जम्मु–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणमा २६ जनाको मृत्यु भएपछि कारबाही स्वरूप यो अपरेशन थालेको हो।
पाकिस्तानले भने भारतीय आक्रमणमा २६ जना निर्दोष नागरिकको ज्यान गएको दाबी गर्दै कडा प्रतिकार जनाएको छ। साथै, पाकिस्तानले भारतीय नियन्त्रणको कश्मीर क्षेत्रमा मिसाइल आक्रमण गर्दै ५ वटा भारतीय विमान खसालेको दाबी पनि गरेको छ, यद्यपि भारतले यो अस्वीकार गरेको छ।
यसबीच दुबै देशले सीमावर्ती क्षेत्रहरूमा सेना परिचालन तीव्र बनाएका छन्। जम्मु-कश्मीरका सीमावर्ती क्षेत्रमा नागरिकहरूलाई सुरक्षित स्थानमा सार्ने कार्य भइरहेको छ। संयुक्त राष्ट्रसंघ, अमेरिका र चीन लगायतका अन्तर्राष्ट्रिय शक्तिहरूले तत्काल संयमता अपनाउन र वार्ताको माध्यमबाट समाधान खोज्न दुबै देशलाई आह्वान गरेका छन्।
दक्षिण एशियाली सुरक्षा विश्लेषकहरूका अनुसार यदि स्थिति तत्काल नियन्त्रणमा लिइएन भने यो द्वन्द्व पूर्ण युद्धमा परिणत हुन सक्ने सम्भावना छ, जसको असर नेपालजस्ता छिमेकी मुलुकहरूमा पनि पर्नसक्छ।–00–

