नवलपुर, २३ वैशाख । नारायणघाट–बुटवल सडकअन्तर्गत दाउन्ने खण्डमा आज बिहान परेको वर्षाका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । चार लेनमा विस्तार भइरहेको यो सडकमा चिप्लोपन र हिलोका कारण सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो ।
विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विश्वकर्मा मन्दिर र पैँसट्ठी मोड आसपास सडक हिलो भएका कारण यातायात ठप्प भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी निरीक्षक जनकराज बञ्जाराले जानकारी दिए । उनका अनुसार वर्षा रोकिएपछि डोजर प्रयोग गरी हिलो पन्छाउने र त्यसपछि मात्र सवारी सञ्चालन सुचारु गर्ने तयारी गरिएको छ । “हिलो धेरै भएकाले अहिले गाडीहरू रोकिएका छन्, सफा गरेपछि मात्रै चलाइनेछ,” बञ्जाराले भने ।
सडक विस्तारका लागि राति ६ घण्टा बन्द गरिँदै आएको यस खण्डमा सामान्य पानी पर्दासमेत सडक पूर्णरूपमा अवरुद्ध हुने समस्या देखिएको छ । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाले आगामी असारसम्म धेरैजसो काम सम्पन्न गर्ने लक्ष्य लिएको जनाएको छ । तर दैनिकजसो सडक बन्द हुँदा यात्रुहरूलाई निकै सास्ती भोग्नु परेको छ ।–00–


